काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।
बिहीबार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार गर्न आग्रह गरे ।
उनले नियामक निकायहरूले परम्परागत नीतिअनुसार काम गरिरहेकाले बैंक तथा वित्तीय क्षेत्र अपेक्षित रूपमा विस्तार हुन नसकेको टिप्पणी गरे । नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डजस्ता निकायहरूले पुराना नीतिका कारण क्षेत्रको क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको उनको भनाइ थियो ।
‘हामी वित्तीय रूपमा सक्षम छौँ भने व्यवसायको दायरा नेपालभित्र मात्रै सीमित राख्नुपर्छ भन्ने छैन, ‘अध्यक्ष ढकालले भने, अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्न दिनुपर्छ र त्यसअनुसार प्रभावकारी नियमन हुनुपर्छ । यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउँछ ।’
उनले व्यवसायिक संस्थालाई केवल नाफामुखी वा गलत मनसाय राख्ने दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । कुनै एक व्यक्तिको गलत कार्यका आधारमा सम्पूर्ण संस्थालाई दोषी ठहर गर्नु गलत अभ्यास भएको उनको तर्क थियो ।
अध्यक्ष ढकालले आर्थिक गतिविधि विस्तारले रोजगारी सिर्जना र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै कानुन तथा नीतिमा सुधार आवश्यक रहेको दोहोर्याए ।
यसैबीच, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बिहीबार आफ्नै नवनिर्मित भवनबाट सेवा सञ्चालन सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया