जेनजी र सरकारको सम्झौताले निजी क्षेत्रमा असुरक्षा बढायो : अध्यक्ष ढकाल

लोकपथ
126
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र जेनजी समूहबिच भएको सम्झौताका कारण पछिल्लो समय निजी क्षेत्रमाथि भएका आक्रमणमा संलग्न व्यक्तिहरू कारबाहीबाट उम्कने हो कि भन्ने गम्भीर चिन्ता निजी क्षेत्रमा पैदा भएको बताएका छन् ।

बुधबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधि गर्नेहरू अनिवार्य रूपमा कारबाहीको दायरामा आउनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रमा लगानीका लागि विश्वास नजागेसम्म रोजगारी सिर्जना र राजस्व वृद्धि सम्भव नहुने स्पष्ट पारे ।

अध्यक्ष ढकालले निजी क्षेत्रबारे नकारात्मक टिप्पणी मात्रै हुने गरेको उल्लेख गर्दै आम जनतालाई निजी क्षेत्र रोजगारदाता, राजस्व तिर्ने र पूर्वाधार निर्माण तथा सेवा प्रदान गर्ने प्रमुख क्षेत्र हो भन्ने सन्देश दिन आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई निरन्तर आन्दोलनको निशानामा पारिँदै आएकोप्रति पनि चिन्ता व्यक्त गरे ।

कार्यक्रममा एनसेलका निर्देशक डिल्लीराम श्रेष्ठले कम्पनीमाथि भएको आक्रमणबाट करिब ६० करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । उनले एनसेलको कर्पोरेट हाउसमा भएको आक्रमण राजनीतिक कारण मात्रै नभई आपराधिक मानसिकताबाट प्रेरित भएको बताए । पार्किङमा रहेका सवारी साधन जलाइएका र कर्मचारीका सामान चोरी भएको उल्लेख गर्दै उनले दोषी जो कोही भए पनि कडा कारबाही हुनुपर्ने माग गरे ।

श्रेष्ठले घटनापछि जाहेरी दिइए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको भन्दै राज्यले निजी क्षेत्रको सुरक्षा र लगानीमैत्री वातावरण सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । उनले एनसेल नागरिकको सूचना तथा सञ्चारसम्बन्धी मौलिक हक सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि बताए ।

यद्यपि उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले लगानीमैत्री वातावरण नबिग्रिएको दाबी गरे । उनका अनुसार पछिल्लो समय पनि लगानी आउने क्रम बढिरहेको छ र यसले निजी क्षेत्रको मनोबल खस्किएको देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?