हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक सञ्चालनमा

लोकपथ
490
Shares
फाइल तस्बिर

बागमती । सडकमा माथिबाट खसेका ठुला ढुंगा पन्छाएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकमा यातायात सञ्चालन भएको छ । 

अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा माथिबाट ठुला ढुंगाहरु खस्दा आज बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा खसेको ठुला ढुंगासहितको पहिरो पन्छाएपछि अहिले सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

यस्तै, हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै सञ्चालन हुन सकेको छैन । 

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझदेखि सो सडक अवरुद्ध भएको थियो । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौं जाने सवारीसाधन बिच बाटोमै रोकिएका छन् । 

पहिरो पन्छाउने काम भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुंगामाटो झर्नेक्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?