कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

लोकपथ
0
Shares

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भूभागमा हिमपात भएको हो ।

हिमपातका कारण चिसो बढ्नुका साथै केही स्थानमा सडक तथा पदमार्ग अवरुद्ध भएका छन् । डोल्पाको शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको छ ।

त्यस्तै, हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी र कनकासुन्दरी गाउँपालिका तथा कालीकोटको तिलागुफा नगरपालिकाका उच्च क्षेत्रमा पनि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पामा हिमपात भइरहेको छ । मौसम प्रतिकूल बनेपछि माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि पदयात्रीलाई जान रोक लगाइएको छ । यसअघि त्यहाँ पुगेका पदयात्रीको अवस्थाबारे जानकारी लिने काम भइरहेको उनले बताइन् ।

सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै डोल्पामा उद्धार तथा राहतका लागि सुरक्षा निकायसहित सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा राखिएको छ ।

यस्तै, मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले शुक्रबार साँझ ५ बजेदेखि लगातार मध्यम वर्षा भइरहेको जानकारी दिए । वर्षाका कारण पहिरोको जोखिम बढेकाले सवारी आवागमन रोक्न प्रहरी परिचालन गरिएको उनले बताए ।

मुगुमा टेलिफोन नेटवर्क र प्रहरी सञ्चारसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनले बताए । सम्भावित जोखिम र दुर्घटनाको अवस्थालाई ध्यानमा राख्दै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन समन्वय गरिएको छ ।

यसैगरी, हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार हिमपातका कारण नाम्खा गाउँपालिकाको हिल्सा, लिमी र लाप्चा जाने बाटो बन्द भएको छ । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको उनले बताए ।

सम्भावित विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य संस्था, खानेपानी कार्यालय र स्थानीय तहलाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?