मनाङ । बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात भएपछि मनाङमा करिब २०० पर्यटक रोकिएका छन् ।
माथिल्लो मनाङ क्षेत्रमा बाक्लो हिउँ परेपछि पदयात्रा गर्न जोखिम बढेको छ । पदमार्ग हिउँले ढाकिएपछि पर्यटकलाई यात्रा नगर्न सूचना जारी गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।
उनका अनुसार माथिल्लो मनाङका पर्यटकीय क्षेत्रमा जाने पर्यटक अहिले मनाङ गाउँमै बसिरहेका छन् । मौसममा केही सुधार आए पनि बाक्लो हिउँका कारण पदयात्रा गर्न सकिने अवस्था छैन ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले पनि पर्यटक र स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताए । उनले मौसममा केही सुधार आए पनि आवतजावत गर्न र पर्यटकीय गन्तव्यमा जान सक्ने अवस्था नरहेको जानकारी दिए ।
पदयात्राका बाटो हिउँले ढाकिएकाले जोखिम अझै कायम रहेको उनले बताए । जोखिम मोलेर यात्रा नगर्न र पर्यटकलाई सुरक्षित राख्न होटल व्यवसायीलाई समेत आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझदेखि हल्का हिमपात सुरु भएको थियो । शुक्रबार र शनिबार बिहानसम्म भने भारी हिमपात भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया