महेन्द्रनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजानी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टीका कार्यालय गरी दुई सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ ।
धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बढी क्षति भएको विवरण संकलन गरिएको छ ।
सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरका एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँच वटा सरकारी संरचना पूर्ण रूपले क्षति भएको छ भने प्रदेशभरि एक सय ५१ वटा सरकारी संरचनामा आंशिक क्षति पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए।
आंशिक क्षतिमा पनि सबैभन्दा बढी कैलालीमा एक सय तीन, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीन वटा सरकारी भवन परेका छन् ।
त्यसै गरी, सुदूरपश्चिममा व्यापारिक र निजीघरतर्फ ३८ घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निजीतर्फ कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा घरमा क्षति पुगेको छ ।
जेनजी आन्दोलनमा यहाँ सात सय ८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । यहाँ पाँच सय ७३ दुई पाङ्ग्रे र एक सय ३५ चारपाङ्ग्रे सवारीसाधनमा क्षति भएको छ । निजी सवारीसाधनतर्फ तीन वटा साधनमा क्षति पुगेको छ ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले ठाडो निवेदन आए पनि जाहेरी आएको छैन । ‘जाहेरी आए पनि संकलन गर्ने भन्ने छ, ‘प्रवक्ता बोहराले भने, ‘किटानी जाहेरी दिएर ठाडो उजुरी दिएको अवस्था छैन, क्षति विषय उल्लेख गरिएको छ ।’ कञ्चनपुर कारागारबाट भागेका चार सय ७८ जनामध्ये ९८ जना कैदी अझैसम्म फरार छन् । उनीहरूको खोजी कार्य जारी छ ।
त्यसै गरी, कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा जाहेरी नपरेको बताए । ‘भागेकामध्ये चार सय छ जना आए, दुई सयभन्दा बढी अझै फरार रहँदा खोजी कार्य पनि तीव्र रूपमा हुँदैछ, ‘प्रवक्ता सिंहले भने, ‘कैलाली प्रहरीले जेनजी आन्दोलनमा काठमाडौँमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौं पठाएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया