चितवन । जिल्ला कारागार चितवनबाट भागेका कैदीबन्दीमध्ये १३९ जना अझै फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक र दुई बालबालिका रहेका छन् । उनीहरूसँग अहिलेसम्म कुनै सम्पर्क स्थापित हुन सकेको छैन ।
गत भदौ २५ गते आएको भीषण बाढीका कारण कारागारको पर्खाल भत्किएपछि चार नाबालकसहित ७४३ कैदी बन्दी फरार भएका थिए । तीमध्ये हालसम्म ५९१ जना स्वेच्छाले फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन् ।
जिल्ला कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार प्रारम्भमा सम्पर्कमा आएका केही व्यक्ति पछिल्ला दिनमा फेरि सम्पर्कविहीन भएका छन् । फरार कैदीहरूको ठेगाना र विवरणसहित सम्बन्धित प्रहरी एकाइहरूलाई खोजतलासका लागि पत्राचार गरिएको उनले बताए ।
ढुङ्गानाका अनुसार सम्पर्कविहीन भएकामध्ये धेरैजसो लागु औषध कारोबार र जबरजस्ती करणी मुद्दाका कैदी रहेका छन् । फरार कैदीमध्ये दुर्लभ एक सिङ्गे गैँडा चोरी–सिकारमा संलग्न एक अभियुक्त पनि रहेका छन् ।
कारागार प्रशासनले असोज २० गतेसम्म स्वेच्छाले फर्किनका लागि समय दिएको थियो । तोकिएको म्यादभित्र नफर्किएकाहरूमाथि कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गर्ने तयारी गरिएको छ ।
कारागारले फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
हालसम्म फर्किएका मध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार फरार कैदीबन्दीको खोजीका लागि सबै सुरक्षा निकाय सक्रिय छन् ।
पुरीले भने, ‘फरार व्यक्तिहरूलाई पक्राउ गर्न सबैको साथ र सहयोग आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया