बाँकेमा पुष्पखेती घट्दै, भारतबाट आएका अवैध प्लास्टिक फूलमालाले स्थानीय व्यवसायी संकटमा

लोकपथ
77
Shares

बाँके । बाँके जिल्लामा व्यावसायिक पुष्पखेती क्रमशः घट्दै गएपछि फूलको अभाव देखिएको छ । भारतबाट अवैध रूपमा भित्रिने प्लास्टिकजन्य फूलमाला र सस्तो आयातित फूलका कारण स्थानीय पुष्प व्यवसायीहरू विस्थापित हुन थालेका छन् ।

फ्लोरीकल्चर एशोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरका अनुसार, केही वर्ष अघिसम्म बाँकेमा दर्जनौँ महिला उद्यमी व्यावसायिक पुष्पखेतीमा सक्रिय थिए, तर पछिल्ला वर्षहरूमा तीमध्ये अधिकांशले यो पेसा छोड्न थालेका छन् ।

उनका अनुसार भारतबाट बिनाभन्सार, बिनाक्वारेन्टाइन र बिनाजाँच विभिन्न किसिमका फूलमाला नेपालगञ्जमा ल्याइन्छन् । हामीले वर्षभरि मेहनत गरेर उत्पादन गर्दा पनि ती सस्ता आयातित फूलमालासँग प्रतिस्पर्धा गर्न सक्दैनौँ। मूल्य नआएपछि धेरै जना व्यवसायीहरू यो पेसाबाट विस्थापित हुन बाध्य भएका छन् ।

चर्तीमगरले स्थानीय सरकार र प्रहरी प्रशासनले सीमापारबाट आउने अवैध फूलमालाको नियन्त्रण गर्न नसक्दा समस्या झन् गम्भीर बन्दै गएको बताइन् ।

उनका अनुसार गत वर्षसम्म बाँकेमा १७ जना महिला उद्यमीहरूले व्यावसायिक फूल खेती गर्दै आएका थिए, तर यो वर्ष अधिकांशले खेती गरेका छैनन् । लगातार घाटा भइरहेकाले धेरैले खेती बन्द गरेका हुन् ।’ उनले थपिन्, ‘स्थानीय तहले आफ्नै पालिकाभित्र प्लास्टिकजन्य फूल र बाह्य फूल बिक्रीमा रोक लगाउने हो भने व्यवसायीहरूलाई केही राहत पुग्थ्यो।’

कोहलपुर नगरपालिका–३ की पुष्प व्यवसायी विष्णु चौधरीले पनि लगातार घाटाका कारण यस वर्ष फूल उत्पादन घटाएको बताइन् । उनले भनिन्, ‘विगतमा तिहारमा राम्रो आम्दानी हुन्थ्यो, तर अहिले भारतबाट सस्तोमा आउने फूलले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा लगानी नै उठ्न छाडेको छ।’

व्यवसाय घटेसँगै नेपालगञ्ज बजारमा फूलको अभाव देखिएको छ । उपभोक्ता सृजना थापाका अनुसार, अहिले स्थानीय बजारमा फूल प्रतिकेजी पाँच सयदेखि आठ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

तिहार नजिकिँदै जाँदा नेपालगञ्जको बागेश्वरी मन्दिर क्षेत्र, धम्बोझी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, पुष्पलाल चोक, बिपी चोक, भानुभक्त चोक र कारकाँदो चोकलगायत क्षेत्रमा भारतबाट आयातित र प्लास्टिकका फूलमाला खुलेआम बिक्री भइरहेका छन् ।

यसरी अवैध र सस्तो प्लास्टिकजन्य फूलमालाको बढ्दो प्रयोगका कारण बाँकेका स्थानीय पुष्प व्यवसायीहरू क्रमशः विस्थापित हुँदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?