काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी प्रिमियम महसुल नतिर्ने उद्योगहरूको विद्युत लाइन काट्न सुरु गरेको छ ।
प्राधिकरणले मंगलबार बिहानदेखि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको जनाएको छ ।
प्राधिकरणका अनुसार यी उद्योगहरूले तिर्न बाँकी बक्यौता रकममध्ये जगदम्बा स्टीलको १ अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३७ लाख, शिवम् सिमेन्टको ७७ करोड ८८ लाख, घोराही सिमेन्टको ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सको ३२ करोड १० लाख रुपैयाँ रहेको छ ।
यी सबै बक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको थप महसुलका रूपमा रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको सार्वजनिक बिदामा पनि उद्योगहरूले बक्यौता रकम बुझाउन सक्ने गरी काउन्टरको व्यवस्था गरिएको छ ।
उनका अनुसार किस्ताको सुविधा समेत उपलब्ध गराइएको छ । पहिलो किस्ता बुझाएपछि जुनसुकै समयमा पनि काटिएको लाइन पुनः जडान गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया