काठमाडौं । दीपावली सकिएसँगै मिथिलाञ्चलमा छठ पर्वको तयारी सुरु भएको छ । यसै क्रममा बाँसका सामग्री बनाउने डोम समुदाय नाङ्गलो, डालो, पनपतिया, छिटी र सुपजस्ता सामग्री बनाउन व्यस्त छन् ।
यी सामग्री छठमा सूर्य देवतालाई दिइने अर्घ्यका प्रसाद राख्न प्रयोग गरिन्छ । तर पछिल्लो समय बजारमा प्रतिस्पर्धा बढेसँगै डोम समुदाय चिन्तित बनेका छन् । उनीहरूका अनुसार बाहिरबाट सस्तोमा बाँसका सामग्री ल्याएर अन्य जातिका व्यापारीहरूले बिक्री गर्न थालेपछि आफ्नो परम्परागत व्यवसाय संकटमा परेको छ ।
डोम समुदायका सदस्यहरू भन्छन्, ‘पहिले छठमा प्रयोग हुने सबै बाँसका सामग्री उनीहरूले नै बनाउँथे, तर अहिले पित्तलका सामग्रीको प्रचलन बढेपछि उनीहरूको आम्दानी घटेको छ । आयस्रोत बन्द हुँदै जाँदा समुदायका युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित हुन थालेका छन् ।’
डोम समुदायका एक सदस्यले भने, ‘पहिले हामीले बनाएको बाँसको सामग्री प्रयोग हुन्थ्यो । अहिले पित्तलको सामग्री चल्न थालेपछि आयस्रोत बन्द भयो । युवाहरू विदेशिन थालेका छन् । हामी अझै पनि जातीय छुवाछुत र अपहेलनाको सिकार छौँ ।
उपभोक्ताहरूले पनि बाँसका सामग्रीको मूल्य आकाशिएको गुनासो गरेका छन् । उनीहरूका अनुसार डोम समुदायका हातबाट बन्ने सामग्री कलात्मक र पवित्र भए पनि मूल्य महँगो भएकाले बाहिरबाट सस्तो सामान किन्न बाध्य भएका छन् ।
स्थानीय एक उपभोक्ताले भने, ‘डोमले बनाउने कलात्मक बाँसका सामग्री राम्रो हुन्छ तर मूल्य धेरै छ । बाहिर सस्तोमा पाइन्छ, त्यसैले त्यहीँ किन्छौँ ।’
छठमा पवित्रताको प्रतीकका रूपमा बाँसका सामग्रीको प्रयोग हुने भए पनि परम्परागत पेसा नै लोप हुने अवस्थामा पुगेको डोम समुदाय अझै पनि समाजको मूलधारमा आउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया