सुन तस्करीमा महराको बयान : ‘भन्सार प्रशासकलाई के गर्न मिल्छ हेरिदिनु भनेको हो’

'अवैध सुनमा मेरो कुनै लगानी छैन'

लोकपथ
3.3k
Shares

काठमाडौं । २०७९ पुसमा दुबईबाट भेपमा सुन तस्करी गरेर ल्याइएको करिब ९ किलोग्राम सुन तस्करीमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदै छ । सिआइबीले आइतबार पक्राउ गरी महराविरुद्ध सरकारी वकिलमार्फत सोमबार अदालतमा मुद्दा दर्ता गराएकामा मंगलबार बयान र थुनछेक बहस हुन लागेको हो ।

सिआइबीले यसअघि नै गरेको अनुसन्धानमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महराविरुद्ध सुन तस्करी र संगठित अपराधमा मुद्दा चलेको भएपनि महराविरुद्ध भने प्रमाण नपुगेको भन्दै मुद्दा नचल्ने निर्णय गरिएको थियो । तर सिआइबीमा डा. मनोज केसीले नेतृत्व सम्हाले लगत्तै महरालाई आइतबार सोही प्रकरणमा पक्राउ गरी सोमबार नै काठमाडौं जिल्ला अदालतमा पूरक अभियोग पत्र दायर गरिएको हो ।

महराविरुद्ध भन्सार चोरी पैठारी तथा संगठित अपराधमा मुद्दा दायर गरिएको हो ।

भएको के थियो ?
२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड ०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए ।

नेपालमा चलिरहेको हाइड्रोपावरमा काम गर्ने चिनिया नागरिकका लागि भन्दै ल्याइएको उक्त भेप भन्सार कार्यालयले स्वीकृति मात्रा भन्दा धेरै भन्दै जफत गरिदिएको थियो ।

भन्सारले जफत गरेको उक्त भेप छुटाउनका लागि ती चिनियाँ नागरिकले विभिन्न व्यक्ति र राजनीतिक दलका नेताहरूको प्रयोग गरेको थियो । त्यही क्रममा कृष्ण बहादुर महरालाई समेत प्रयोग गरी उक्त भेप छुटाउने कोसिस गरिएको थियो ।
भेपको सम्बन्धमा महराले तत्कालीन प्रमुख भन्सार प्रशासक अरुणकुमार पोखरेललाई फोन सम्पर्क गरी के गर्न मिल्छ हेरिदिनु समेत भनेका थिए । त्यसपछि महराका छोरा राहुल भन्ने रेशम महरा नै भन्सार कार्यालयमा गई उक्त भेप छुटाइदिन वा आफूले नै पाउने गरी लिलामी गरिदिन आग्रह गरेका थिए ।

छलफलकै क्रममा राहुलसँगै गएका व्यक्तिले भेप त्यही हो कि अर्कै हो हेरौैं त भनी भनेपछि पोखरेललाई शंका लागेर त्यसको अनुसन्धान गर्न भनेका थिए ।

प्रारम्भिक अनुसन्धानमा जफत गरिएको भेप नै साटिएको पाइएपछि प्रमुख भन्सार प्रशासक पोखरेलले उक्त विषयमा अनुसन्धान गर्न सिआइबीलाई पत्र लेखेका थिए ।

सिआइबीले अनुसन्धान गर्दा बरामद भएको भेप नै साटिएको पाइएको थियो । त्यसपछि थप अनुसन्धान गर्दै जाँदा जफत गरिएको भेपमा सुन तस्करी गरी ल्याइएको पाइएको थियो ।

अवैध भेप भनी जफत गरिएको वस्तुभित्र सुन रहेको पत्ता लागेपछि उक्त सुन तस्करी गरी ल्याइएको भेप भन्सारमै काम गर्नेहरू रेवन्त खड्का, दिनेश बस्नेत लगायतले भन्सार कार्यालयको गोदामबाट चोरी गरी सुन निकालेर विक्री गर्ने गरेको पाइएको थियो भने उक्त सुन खरिदमा वेद प्रकाश अग्रवाल, साहेब राव पाण्डुरङ मरगले, अमृत कार्की, निर्मल कुमार बिक र दीपेश बस्नेत लगायतको संलग्नता पाइएको थियो ।

यो अनुसन्धानको क्रममा उक्त सुन छुटाउन कृष्ण बहादुर महरा लगायतका व्यक्तिको चासो रहेको पाइएपछि सो सम्बन्धमा थप अनुसन्धान हुँदा दावा भन्ने दाओजिन वाङ लगायतले उक्त सुन नेपाल ल्याएको पाइएको थियो ।

वाङ र महराबिच लामो सम्बन्ध रहेको पाइएपछि प्राविधिक विश्लेषण गर्दा वाङ र महराबिच कैयन पटक फोन सम्पर्क भएको पाइएको थियो ।

सोही विषयमा सिआइबीले त्यति बेला नै कृष्ण बहादुर महरा, उनका छोरा राहुल महरा लगायतसँग बयान लिएको थियो । पछि राहुल महराविरुद्ध मुद्दा चलाए पनि कृष्ण बहादुर महराको सम्बन्धमा भने प्रमाण नपुगेको भन्दै मुद्दा दायर भएन ।

सिआइबीले त्यति बेला मुद्दा दायर गर्दा भन्सार ऐन र संगठित अपराध निवारण ऐन, २०७० बमोजिम मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा ९ केजी सुनको मूल्य अर्थात् तत्कालीन समयको बजार मूल्य अनुसार ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो कायम गरिएको थियो ।

सोही प्रकरणमा पहिले प्रमाण नपुगेको भन्दै उन्मुक्ति पाएका महरालाई अहिले भने सुनको अवैध रूपमा पैठारी तथा संगठित अपराध मुद्दाका सम्बन्धमा नेपाल सरकारबाट गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो । उक्त प्रतिवेदनमा कृष्ण बहादुर महराका हकमा निजको उक्त वारदातमा संलग्न रहेका चिनिया नागरिक दाओजिन वाङसँग विभिन्न मितिमा पटक पटक फोन सम्पर्क भएको देखिएको, निजसँग पटक पटक उठबस हुने गरेको निजको फोन सम्पर्क र निज प्रतिवादीका छोराहरूको बयान ब्यहोरा समेतबाट खुल्न आएको, निज प्रतिवादीले प्रमुख भन्सार अधिकृतलाई फोन सम्पर्क गरी अवैध रूपमा भन्सार चोरी पैठारी गरी भित्राएको इलेक्ट्रिक सिगरेट (भेप) भित्र रहेको सुन जाँच पास गरिदिन पटक पटक सम्पर्क गरी निजको छोरा राहुल भन्ने रेशम महरालाई उक्त सुन रहेको इलेक्ट्रिक सिगरेट (भेप) छुटाउन पठाएको समेतका कारणबाट उक्त तस्करीमा महराको समेत संलग्नता रहेको जिकिर गरिएको थियो । सोही प्रतिवेदनमा महराविरुद्ध पनि मुद्दा दायर हुनुपर्ने सिफारिस गरेको कारण सिआइबीले महराविरुद्ध समेत मुद्दा दायर गरेको हो ।

महराले सिआइबीको बयानमा के भनेका छन् ?
सिआइबीले त्यति बेला नै महरासँग बयान लिएको थियो । बयानमा महराले वाङसँग आफ्नो चिनजान रहेको तर तस्करीमा संलग्नता नरहेको जिकिर गरेका छन् ।

महराको बयान यस्तो छ :
‘म नेपाल सरकारको सञ्चार मन्त्री हुँदा चिनियाँ नागरिक दाओजिन वाङ फलफूल लिएर मलाई बधाई दिनका लागि म बस्ने गरेको घरमा आएकोले सोही बेला मैले निजलाई चिनेको हुँ । निजले मलाई आफू फलफूल व्यापारी हुँ भनी बताएको हुँदा मैले फलफूल व्यापारीको रूपमा मात्र निजलाई चिनेको हुँ । निज चिनियाँ नागरिक दाओजिन वाङले गलैँचा, जडीबुटी, खाद्यान्न, विद्युतीय सामाग्री आदिको व्यापार गर्ने गरेको बारेमा मलाई थाहा छैन । निजको व्यवसायमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन । प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसँग मैले प्रयोग गर्ने ९८५१२XXX५५ नम्बरको मोबाइलमा एक पटक कुराकानी हुँदा सामान वैध हो कि अवैध हो, यदि वैध हो भने कानुन बमोजिम के गर्न मिल्छ गरी दिनु होला मात्र भनेको हो, मेरो छोरा आउँछ, हेरिदिनु भनेको होइन । म राजनैतिक व्यक्ति भएकोले धेरै जनासँग भेटघाट तथा फोनमा कुराकानी हुने गरेको हुँदा सबै कुरा याद छैन । मिति २०७९।९।१० गते विदेश (दुबई) बाट ल्याएको इलेक्ट्रिक सिगरेट (भेप) ७३० थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले नियन्त्रणमा लिएकोले चिनियाँ नागरिक दाओजिन वाङले मलाई मेरो ९८५१२XXX५५ नम्बरमा फोन गरी विदेशबाट ल्याएको इलेक्ट्रिक सिगरेट (भेप) भन्सारमा रोकिएको छ, भनिदिनु प¥यो भनी बताएपछि थाहा भएको हो । निजले मलाई के कुन मितिमा फोन गरे भन्ने कुरा यकिन छैन । मेरो भन्सार प्रमुख प्रशासक अरुण पोखरेलसँग कुरा हुँदा सामान वैध, अवैध के हो ? वैध हो भने कानुन बमोजिम के गर्न मिल्छ गरिदिनु मात्र भनेको हो । निजले कति कारणले मेरो छोरा आउँछ हेरी सहयोग गरी दिनु भनेको भनी खुलाए मलाई थाहा भएन । उक्त सुनको अवैध पैठारी (तस्करी) मा मेरो कुनै पनि संलग्नता छैन । मैले मेरो परिवारका सदस्यहरूलाई कुनै राजनैतिक संरक्षण गरेको छैन । चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाई छिपाई लिई आएको सुन अवैध रूपमा नेपाल भित्राउनको लागि मेरो कुनै लगानी छैन । अवैध सुन कारोबारमा मेरो लगानी छैन ।’

महराले भेपभित्र लुकाएर ल्याएको सुन तस्करीमा आफ्नो संलग्नता नरहेको दाबी गरेपनि नेपाल सुन तस्करीको मुख्य नाइके मानिएका दाओजिन वाङसँग अस्वाभाविक उठबस देखिएपछि महरालाई पनि मुद्दा चलाइएको हो । सोमबार दायर भएको उक्त मुद्दामा मंगलबार पहिले बयान भई त्यसपछि थुनछेक बहस हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?