सर्वाेच्चको ‘फुलकोर्ट’ले भन्यो– ‘न्यायाधीशविरुद्ध बाहिर आएका विषयमा छानबिन गरियोस्’

लोकपथ
0
Shares

काठमाडौं । आज सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले ५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षणसहित सर्वोच्च प्रशासनले ५ बुँदे निर्णय सार्वजनिक गरेको हो ।

सर्वाेच्चद्वारा जारी विज्ञप्तिमा प्रकाशित तथा प्रसारित विषयमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यसैगरी, विज्ञप्तिमा संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता अटल रहेको उल्लेख गरिएको छ । साथै, पूर्ण बैठकले सञ्चारमाध्यममा आएका समाचारबारे हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम जवाफदेहिता निर्वाह गर्न तथा सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, विज्ञप्तिमा छानबिनको निष्कर्ष आउनुअघि कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

बैठकले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत न्यायकर्मीहरूलाई आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?