काठमाडौं । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरूप सशस्त्र प्रहरी बल, नेपालले अवैध ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता २०८२ चैत १३ देखि २०८३ कात्तिक १ गतेसम्म सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ ।
यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद गरिएको छ भने हातहतियारसम्बन्धी घटनामा संलग्न आठ जना पक्राउ परेका छन् । त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन् । उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी, मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ९१ जनालाई पनि पक्राउ गरिएको छ ।
सीमा अतिक्रमण नियन्त्रणका लागि दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ । त्यस्तै, १७ स्थानमा रहेको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ । सीमा क्षेत्रका २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइसमेत गरिएको छ ।
सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस अवधिमा २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएको छ । साथै, १४१ सहायता कक्षमार्फत ३ लाख ४९ हजार ९०८ जना तथा १३ पर्यटक सहायता कक्षमार्फत १० हजार ६५४ जना लाभान्वित भएका छन् ।
सरकार गठन भएयता सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले अवैध गतिविधि नियन्त्रण, सीमा अतिक्रमण रोकथाम तथा सीमावासीलाई सहायता पुर्याउने कार्यलाई तीव्रता दिएको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया