पूर्वउपकुलपति डा.संगीता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १२ करोड बिगो मागदाबी

लोकपथ
455
Shares

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहीबार उनीविरुद्ध एमआरआई मेसिन खरिदमा घोटाला गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम बिगो १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ अठार पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद र बिगोबमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम ९ करोड ३४ लाख २६ हजार ६ सय १९ रुपैयाँ ८७ पैसा असुलउपर हुन मागदाबी लिइएको छ । साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको पनि माग गरिएको छ ।

भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन् । उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन् ।

यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन् ।

जसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन का.मु. रजिस्ट्रार झन्कार लामिछाने, तत्कालीन फाईन्यान्स मेनेजर कैलाशप्रसाद देव, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डि.सी., शाखा अधिकृत श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, प्रतिष्ठानका तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, प्रतिष्ठानका तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा र लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोस्टराज ज्ञवाली छन् । उनीहरू सबै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम बिगो १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ अठार पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद र बिगोबमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम ९ करोड ३४ लाख २६ हजार ६ सय १९ रुपैयाँ ८७ पैसा असुलउपर हुन मागदाबी लिइएको छ । साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको पनि माग गरिएको छ ।

स्वास्थ्य सेवा विभागका तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?