काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि आवश्यक रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई स्वागत गर्दै उनले व्यवसायी जोगाउन अर्थतन्त्रको प्रणालीमा सुधार आवश्यक रहेको स्पष्ट पारे । केही अवस्थामा कानुन स्पष्ट नहुँदा काम गर्न समस्या हुने भएकाले कानुनको भावअनुसार स्पष्टता हुनु जरुरी रहेको उनले उल्लेख गरे ।
‘कानुनको स्पष्टता सबै क्षेत्रमा आवश्यक पर्छ, विशेष गरी पत्रकारहरूले समाचार लेख्दा कानुनको व्याख्या राम्रो नभए गलत सन्देश जान सक्छ, यसमा सबै सचेत हुनुपर्छ,’ उनले भने ।
जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनः निर्माणका लागि स्रोतको अभाव नहुने उनले बताए। ‘पुनः निर्माणका लागि ठुलो स्रोत आवश्यक छ, यद्यपि सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार अझ महत्त्वपूर्ण छ, ’ गभर्नर पौडेलले भने ।
प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले व्यवसायीमा चिन्ता थपे पनि अब निजी क्षेत्रको मनोबल उच्च राख्दै अघि बढ्नु विकल्प नभएको उनको भनाइ थियो । ‘अब हाम्रो प्राथमिकता स्वदेशमा लगानीको वातावरण निर्माण गरी विदेशी लगानी आकर्षित गर्नु हो । यदि स्वदेशी लगानीका लागि वातावरण तयार पार्न सकिन्छ भने अर्थतन्त्रमा गतिशीलता ल्याउन लामो समय लाग्दैन,’ उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया