नेपाल लाइफ इन्स्योरेन्सको क्रेडिट रेटिङ बढ्यो, ‘डबल ए’ कायम

लोकपथ
49
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको क्रेडिट रेटिङ सुधार भएको छ । इक्रा नेपालले कम्पनीको रेटिङ ‘आईसीआरएएनपी–आईआर एए–’ बाट बढाएर ‘आईसीआरएएनपी–आईआर एए’ कायम गरेको हो ।

इक्रा नेपालका अनुसार कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमता निकै बलियो छ । ‘डबल ए’ रेटिङले कम्पनीले आफ्नो वित्तीय दायित्व पूरा गर्न नसक्ने जोखिम निकै कम रहेको संकेत गर्छ ।

नेपाल लाइफ जीवन बीमा बजारमा २७ प्रतिशत हिस्सा ओगटेको सबैभन्दा ठूलो कम्पनी हो। सन् २००१ देखि सञ्चालनमा रहेको कम्पनीका देशभर १९६ वटा शाखा छन् ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ५४ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ४८ अर्ब २० करोड रुपैयाँ थियो। यसअनुसार कम्पनीको बीमाशुल्क आर्जन १२.१ प्रतिशतले बढेको छ ।

त्यस्तै, कम्पनीको नवीकरण बीमाशुल्क ४० अर्ब ६० करोड रुपैयाँ पुगेको छ । पहिलो वर्षको बीमाशुल्क ७ अर्ब ३४ करोड रुपैयाँ र एकल बीमाशुल्क ६ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ७६ अर्ब १३ करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै, बीमालेख धितोमा दिइएको कर्जासहित कम्पनीको कुल लगानी २ खर्ब ८० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको सोल्भेन्सी अनुपात पनि बढेको छ । अघिल्लो अवधिमा १४५ प्रतिशत रहेको यस्तो अनुपात बढेर १५४ प्रतिशत पुगेको हो । नियामकीय व्यवस्थाअनुसार यसको न्यूनतम सीमा १३० प्रतिशत हुनुपर्छ ।

कम्पनीले सरकारी ऋणपत्रमा लगानी बढाउँदै मुद्दती निक्षेपमाथिको निर्भरता घटाएको छ । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीको कुल लगानीमध्ये १८ प्रतिशत सरकारी ऋणपत्रमा र ७६ प्रतिशत मुद्दती निक्षेपमा रहेको छ ।

यद्यपि, कम्पनीको लगानीबाट हुने आम्दानी भने घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा ९.४ प्रतिशत रहेको लगानी प्रतिफल आर्थिक वर्ष २०८२/८३ मा घटेर ८.१ प्रतिशतमा झरेको छ । ब्याजदर घट्नु र लगानीका अन्य विकल्प सीमित हुनुलाई यसको मुख्य कारण मानिएको छ ।

त्यस्तै, कम्पनीको खुद नाफामा पनि गिरावट आएको छ । आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा बीमांकीय मूल्यांकनअघिको प्रारम्भिक विवरणअनुसार ४६ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

तर, बीमांकीय मूल्यांकनपछि कम्पनीको अन्तिम नाफा फरक हुन सक्ने इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ । कम्पनीसँग १ अर्ब ५४ करोड ४० लाख रुपैयाँको विपद् कोष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?