काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक बाहेक निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।
चीनको तिब्बत क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढीले रसुवागढी आसपासमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरू स्थगित गरेका हुन् ।
प्रधानमन्त्री ओली आज एमाले केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागको नीति संवाद र नेपाल उद्योग परिसंघको २२औँ साधारण सभामा सहभागी हुने कार्यक्रम तय थियो । तर, बाढीको गम्भीरताका कारण ती कार्यक्रमहरू स्थगन गरिएको छ । उनी अहिले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग परामर्शमा व्यस्त छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् नागरिकप्रति समवेदना व्यक्त गर्दै लेखेका छन्, ‘बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरू आएका छन् । ठुलो भौतिक क्षति पुर्याएको छ। ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र पीडामा रहनु भएका नागरिकप्रति सहानुभूति प्रकट गर्दछु ।’
उद्धार कार्यबारे सुरक्षा निकायहरूसँग निरन्तर रिपोर्टिङ भइरहेको जनाउँदै उनले आपतकालीन सहायता तीव्र रूपमा समन्वय गरिएको जानकारी दिएका छन्। उनले सबै सरकारी निकायलाई उद्धार तथा राहतमा कुनै कमी नहोस् भन्ने निर्देशनसमेत दिएका छन्।
सरकारको सक्रियताका साथै जनस्तरबाट पनि सहयोगको अपेक्षा गरिएको प्रधानमन्त्रीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया