काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक मूल्य मान्यता भुलेर फेरि अलोकतान्त्रिक चरित्र देखाउन खोजे क्रान्तिले पुनः आफ्नो ठाउँ देखाउने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले भने,‘ राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, हामीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरूले राखेका छौँ र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ । यो कुरालाई कमजोरी नठानियोस् । यदि लोकतान्त्रिक मूल्य मान्यता भुलेर फेरि अलोकतान्त्रिक चरित्र देखाउन खोजियो भने क्रान्तिले पुनः आफ्नो ठाउँ देखाउनेछ म यो चुनौती पनि दिन चाहन्छु । ’
उनले राजावादीहरू सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गरे। व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलहरू समेत मिसिएको बताए। उनले नेपालमा शान्ति प्रक्रिया मात्र नभई गणतन्त्रणको इतिहास समेत मौलिक र उदार रहेको बताए ।
उनले भने , ‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आज मात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरू हिजो पनि थिए, अस्ति पनि थिए । तर अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ । पछिल्लो आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भनेर बुझ्न अब कठिनाइ छैन । आज म चेतावनीका साथ भन्न चाहन्छु नेपालको शान्ति प्रक्रिया मात्र होइन गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ । संसारभरीको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले गणतन्त्र लेखिएको पाइन्छ । तर नेपाल त्यसको अपवाद बन्यो ।’ उनले पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुनेसमेत चेतावनी दिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया