भूकम्प नेपालको विकास निर्माणका लागि समस्या बनेको छ : राष्ट्रपति पौडेल

लोकपथ
917
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले हिमालय पर्वत श्रृंखलामा बेला-बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताए । उनले केही प्राकृतिक प्रकोपहरुको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भए पनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन नसकिएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगिकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको बताए । साथै उनले यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको पनि बताए । उनले विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरुको हिउँ एक तिहाइ घटिसकेको उल्लेख गर्दै हिमतालहरु विष्फोटनको संघारमा रहेको बताए । उनले अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको बताए ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभए पनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय महत्त्वपूर्ण रहेको बताए । जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्‍याउन जरुरी रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?