महिलामाथि हुने शोषणविरुद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले महिलामाथि हुने अन्याय अत्याचार, विभेद र शोषणविरुद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

एक सय १५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले पूर्णरूपले लैङ्गिक समानता स्थापनाका निम्तिको संघर्षलाई अझ सशक्तरूपले अगाडि बढाउन जरुरी भएको बताए ।

महिलाहरूको हक र अधिकार प्राप्तिको संघर्ष रूपमा ८ मार्च २०२५ आइपुगेको बताउँदै नेता खनालले सम्पूर्ण महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

उनले आफ्नो सन्देशमा भनेका छन्, ‘आजको दिन विश्वभरका महिला दिदीबहिनीहरूको मुक्तिको ऐतिहासिक महिलाहरूको हक र अधिकारका साथै राजनीतिक, आर्थिक, सामाजिक तथा अधिकारका निम्ति आवाज बुलन्द गरिएको संघर्षको दिन हो । महिला दिदीबहिनीका संघर्षको कारण वर्तमान विश्वमा महिलाअधिकार र समानताका निम्ति उल्लेखनीय हक अधिकारहरू प्राप्त भएका छन् ।’

महिलाहरूले चलाउँदै आएको अनवरत संघर्षको कारणले नेपालको वर्तमान संघीय संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै नेता खनालले यस महत्त्वपूर्ण राजनीतिक उपलब्धिलाई विस्तार गर्नुपर्नेमा जोड दिए । ‘महिला–पुरुष पूर्णरूपले समान भएपछि मात्र समाजवादमा पुग्न सकिनेछ,‘ उनले भने ‘त्यसैकारण आजको ८ मार्चको उपलक्ष्यमा सम महिला दिदीबहिनीहरूलाई आफूमाथि भइरहेका सबै प्रकारका शोषण, अन्यायका विरुद्ध लड्दै समाजवाद प्राप्तिको ऐतिहासिक लक्ष्यतिर अघि बढ्नमा जोडदार आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?