चेल्सीलाई युरोपा लिगको उपाधि

एजेन्सी । चेल्सीले यो सिजनको युरोपा लिग फुटबलको उपाधि जितेको छ । 

अजरबैजानमा बुधवार राति सम्पन्न भएको खेलमा चेल्सीले आर्सनललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । चेल्सीलाई युरोपा लिगको उपाधि दिलाउन इडेन हजार्ड नायक बने । उनले दुई गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । खेलको ४९ औँ मिनेटमा चेल्सीका लागि ओलिभर जेरुडले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ६० औँ मिनेटमा पेड्रोले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।

६५ औँ मिनेटमा इडेन हजार्डले पेनाल्टीमार्फत गोल गरे । यता ६९ औँ मिनेटमा आर्सनलका लागि एलेक्स इओबीले गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याए । ७२ औँ मिनेटमा हजार्डले क्लबका लागि तेस्रो तथा क्लबका लागि चौथो गोल गरे । 

यता ७ वर्ष चेल्सीमा बिताएका हजार्डले यो सिजनको अन्त्यसँगै क्लबबाट छाड्दै छन् । उनी स्पेनी क्लब रियल म्याड्रिड जाने सम्भावना बढी रहेको बताइएको छ । यो उपाधिसँगै चेल्सीले युरोपा लिगको तेस्रो पटक उपाधि जितेको छ ।

चेल्सीले सन् २०१२ र २०१३ मा यो प्रतियोगिताको उपाधि जितेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?