दसैँको सबैभन्दा रमाइलोपल भनेको बाल्यअवस्थाकै हो । म अहिले दसैँ आएपछि कक्षा ७/८ मा पढ्दै गर्दाको अवस्था सम्झिन्छु । त्यो बेलामा हामी घटस्थापना आउने बित्तिकै अघिल्लो दिन नै हामी स्कुलबाट भागेर कहिले गाउँ पुगम कहिले बुबा मुमासँग भेटम हुन्थ्यो ।
त्न्यस बेला दसैँको रमाइलो भनेकै गाउँघरका सबै मान्छेहरुसँग भेट्ने हुन्थ्यो । त्यसको अलवा गाउँमा बसै मिलेर बाटो सरसफाइ गर्ने, पिङ हाल्ने, रोटेपिङहरु हाल्ने आदी हुन्थ्यो । अझ पिङ हाल्नका लागि काठ काट्न अनुमति लिने चलन हुन्थ्यो । जीन्दगीको यात्रामा त्यो बेलाको दशैँ याद आउँछ । बाबा आमाको काखमा मनाएको दशैँको सौन्दर्य र स्मृतीमा आउँछन् र ती कुराहरु बिर्सिन सकिँदैन ।
तर त्यसपछिका दशैँहरु भने बिस्तारै बिस्तारै जिम्मेवारीहरु बढ्दै गयो, आफुले धेरै ठाउँमा हेर्नु पर्ने पुर्याउन पर्ने भयो । अझ राजनीति गर्ने मान्छे भएपछि त आशा गर्ने साथीहरुलाई पुर्याउन पर्ने पनि भयो त्यसले गर्दा भारी जिम्मेवारी बढ्दै गएपछि अलि दशैँको उमंग केही कम हुँदै गयो की भन्ने महसुस हुन्छ ।
बा आमाको काखमा निश्चिन्त भएर जिम्मेवारीविहीन अवस्थामा दशैँ मनाउँदाको मज्जा छुट्टै थियो ।
दशैँमा आफूभन्दा ठूला मान्यजनको हातको टिका लगाउने, आशिर्वाद लिने त्यतिमात्र होइन पढाइको शिलशिलामा बुबाआमा भन्दा टाढा भएको हुँदा भेटघाट हुने कुराले पनि रमाइलो दिन्थ्यो ।
अहिले दशैँ आयो कि म त्यही गाउँ (नुवाकोट) को घर सम्झिन्छु । भूकम्पले भत्काएको त्यही घर अहिले पुनर्निमाण गरिरहेका छौँ ।
याद आउँछ त्यहि गाउँको पाखापखेरा, पहाड, बर पिपलको चौतारो त्यहाँ दौडादौड गरेर खेल्ने साथीसंगीहरुको । यी सबै चिज दशैँको सबै भन्दा ठूलो स्मरण र रमणीय पक्षको रुपमा त्यसलाई नै लिन्छु ।
नयाँ लुगा लगाउने कुराले विशेष तान्थ्यो । विद्यार्थी जीवनमा आफैँ पकाएर खानुपर्ने थियो । अझ भाइहरुको समेत हेरचाह गर्नुपर्ने अवस्था थियो । जसको कारण दशैँमा बाबा आमाले पकाएको चिचि पापा लगाउँदा छुट्टै आनन्द आउँथ्यो ।
स्मरणीय दशैँ भनेको बुबाआमा पनि एकै ठाउँका भेला भएको दशैँ थियो । बुबा आमा बितेपछि हामी सातै दाजुभाइ एकै ठाउँमा भेला भएर मनाएको दशैँ स्मरणीय दशैँको रुपमा लिन्छु ।
तर आज भन्दा करिब ७ वर्ष अघि घटस्थापनाको एक दुई दिन अघि आमाको देहवसान भयो । त्यो बेलाको दशैँ चिन्ता वेदना साथै दुखमा बस्नुपर्दाको दशैँको समय भए पनि जीन्दगीभर दुखद रुपमा सम्झिने दशैँ बन्छ ।
दशैँको सन्दर्भका अनेकौँ अनुभवहरु छन् । अहिले चाँही नयाँ लुगा लगाउने, मासु खाने, खेलबाड गर्नेमा मात्र सिमित छैन ।
दशैँले हाम्रो हिन्दू दर्शनले जनमानसमा पुर्याउने कोसिस गरेको छ । त्यसलाई हामीले कति ग्रहण गर्न सक्यौ सकेनौँ त्यो एउटा पक्ष हो । दशैँका विभिन्न आयामहरु छन्, त्यो मध्ये देवी दुर्गाले मैसासुरको वध गरेर विजय प्राप्त गरेको दिनको रुपमा पनि हेर्ने गरिन्छ भने अर्कोतिर रामले रावणमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दिशमीलाई लिइन्छ ।
हाम्रा विभिन्न राष्ट्रिय पर्वहरु छन् । तीनका आ–आफ्नै महत्व र विशेषता रहेका छन् । ती सबै पर्वले कतै न कतैबाट सामाजिक सद्भावना छर्ने काम गर्दछ । राष्ट्रिय चाडहरु हाम्रो राष्ट्रिय सम्पत्ती हुन् । त्यसैबाट मुुलुकलाई राष्ट्रिय रुपमा अध्यारोबाट उज्यालोतर्फ लैजान समेत भूमिका खेल्दछ ।
जीन्दगी चुनौतीको यात्रा हो । यो यात्राका क्रममा विभिन्न दशैँहरु राजनीतिक रुपमा भयको अवस्थामा पनि मनायौँ । अहिले देश शान्त छ, यो नै नेपालीहरुको मुल पहिचान हो । मैले भन्ने गरेको छु, शान्तिको विकल्प छैन र हिंसाको भविष्य छैन । त्यसो हुँदा हामीले सबै धर्मसंस्कृतिमाथि सम्मान गर्न सकेमा मात्र राष्ट्रिय एकता कायम हुन सक्दछ । नेपाल विभिन्न जातजातीहरुको साझा फूलबारी हो । जातिय विविधता नै नेपालको सम्पति हो सम्पदा हो ।
त्यसैले यस्ता चाडहरु आइरहँदा पूराना दिनहरुको स्मरण हुने गरेको छ । म सम्झन्छु बुुबा आमाले प्रबन्ध गरेको ती दशैँहरु जुन खुसी थिए अहिले त्यस्तो छैन । सानो बेलाका दशैँको सन्दर्भका विभिन्न स्मरणहरु छन् जसले अहिले रमाइलो दिन्छ । एकपटकको दशैँमा मामाघरको टिका लगाउँदाको यादले मलाई अहिले पनि उत्सुक गराउँछ ।
त्यो बेला म ५-७ वर्षको थिएँ होला त्यो बेलामा आफ्नै मामाघरमा त होइन आमाको माइलाबुबाहरुको घरमा होला टिका लगाएर ५ पैसाको ढ्याका दिँदा मैले फालिदिएको छु । पछि आमाले निकै गाली गर्नु भएको थियो । मेरो मामाघर पहिल्यैबाट सम्पन्न थियो । मेरो हजुरआमा त्यतिकै उदार हुनुहुन्थ्यो । म जेठो नाती भएको कारणले मलाई धेरै माया गर्नुहुन्थ्यो । त्यो बेला पनि एकुट्ठी पूरानो नोट दिनुहुन्थ्यो । मुवासँग टिका लगाउन मलाई खुब रमाइलो लाग्थ्यो ।
पहिला पहिलाको धेरै रमाइला कुराहरुको याद आउने गरेको छ । हामी बुबा आमासँग माग गर्ने कुरा पनि साधारण हुने गर्दथ्यो । अहिले त त्यो कुरा धेरै फरक भैसक्यो । तै पनि दशैँलाई भड्किलो रुपमा नमनाउन म सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्न चाहान्छु । साथै विजया दशमीको शुभकामना पनि व्यक्त गर्न चाहान्छु ।
हेर्नुहोस् भिडियो :
https://www.facebook.com/lokpath9/videos/1111674723084914
(लोकपथका लागि प्रकाश पुडासैनीले गरेको कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया