प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत छैन : विष्णु पौडेल

लोकपथ
0
Shares

काठमाडौं ।  नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘सत्ता कब्जा’ गर्ने सोच र उग्रवामपन्थी भड्कावका कारण माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको दाबी  गरेका छन् । 

विगतको स्मरण गर्दै पौडेलले २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाई हटाउने सरकारको निर्णयमा एमालेले कडा असहमति जनाएको  बताए । 

पौडेलकाअनुसार एमालेले सरकारबाट बाहिरिने चेतावनी दिँदा पनि प्रचण्डले हठ नत्यागेका कारण अन्ततः उहाँले सरकारको नेतृत्व नै गुमाउनुपरेको थियो । 

माओवादीले शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लोकतान्त्रिक पद्धतिलाई पूर्ण रूपमा आत्मसात गर्न नसक्दा र सत्ता कब्जाको धङधङी नत्याग्दा आज सो पार्टीको अस्तित्व सङ्कटमा परेको पौडेलको तर्क थियो । उनले शान्तिपूर्ण आन्दोलनको बलमा मात्र राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको भन्दै हिंसाको बाटोले कुनै उपलब्धि नदिएको जिकिर गरे  । 

उनले भने, ‘त्यति बेला प्रचण्डजीले सेना प्रमुख हटाएर आफ्नो अनुकूलको मान्छे राख्दै सत्ता कब्जा गर्ने रणनीति बुन्नुभएको थियो । हामीले उहाँलाई यो बाटो आत्मघाती हुन्छ भनेर पटक–पटक सम्झायौँ, तर उहाँले मान्नुभएन । उहाँले निकै कडा जवाफ दिनुभएको थियो– म अगाडि बढिसकेँ, अल्झाउने काम नगर्नुस् । खासगरीकन म यहाँहरूसँग के आग्रह गर्न चाहन्छु भने अघि यहाँ चर्चा भयो आजसम्म आइपुग्दा नेपालमा यो माओवादी नामको सङ्गठनको अस्तित्व समाप्त भएको छ । आज करिब समाप्त भएको छ। प्रचण्डले नेतृत्व गरेको भनिएको माओवादी अहिले माओवादी छैन । वास्तवमा उसले माओवाद परित्याग गर्‍या छ, जनयुद्ध परित्याग गर्‍या छ र हिजोका जेजस्ता उग्रवामपन्थी धङधङीहरू थिए, त्योबाट अलग भएको छ । तर ठिक ढङ्गले हिँड्न नसक्दाखेरि उग्रवामपन्थबाट अलग भए पनि कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने त्यो हैसियत पनि त्यो सङ्गठनसँग, त्यो नेतृत्वसँग छैन भन्ने कुरा म बताउन चाहन्छु। माओवादी सिध्याइएको छ। माओवादी भन्ने करिब–करिब अहिले चाहिँ केही माओवादी नामका केही साना समूहहरू भए पनि जुन त्यसको मूलधार हो, त्यो मूलधारले माओवाद आफैँले परित्याग गरिसक्या छ ।’

उनले प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत नरहेको  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?