पूर्णबहादुरलाई सोधिएको स्पष्टीकरणबारे कांग्रेसले के गर्‍यो निर्णय ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण र उनले दिएको जवाफ लगायतको प्रक्रियालाई हाल यथास्थितिमा राख्ने निर्णय गरेको छ ।

आज बसेको अनुशासन समितिको बैठकले पूर्णबहादुरको स्पष्टीकरणको निर्णयलाई तामेलीमा राख्ने निर्णय गरेको हो ।

गत वैशाख २ गते कांग्रेसले खड्कालाई ७ दिनभित्र स्पष्टीकरण दिन भनेको थियो । खड्काले स्पष्टीकरण दिए पनि विशेष महाधिवेशनबारे सर्वोच्च अदालतबाट अन्तिम निर्णय आइसकेपछि कांग्रेसले त्यसलाई अहिले थाती राखेको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व का।वा। सभापति पूर्णबहादुर खडकालाई पदिय जिम्मेवारीका सम्बन्धमा स्पस्टिकरण सोधिएकोमा सम्मानित सर्बोच्च अदालतको मिति २०८३/०१/०४ गतेको फैसला पश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ,’ अनुशासन समितिको बैठकको निर्णयपछि भनिएको छ ।

यता रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई भने जिल्ला सभापति पदबाट निलम्बन गरिएको छ । उनले पार्टी सभापति गगनकुमार थापा लक्षित विभिन्न आरोप लगाएपछि स्पष्टीकरण सोधिएको थियो । तर जवाफ चित्तबुझ्दो नआएको भन्दै जिल्ला सभापतिबाट निलम्बन गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?