कान्छारामलाई कांग्रेसले गर्‍यो निलम्बन

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस अनुशासन समितिको बैठकले कान्छारामलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

उनले पार्टी सभापति गगनकुमार थापामाथि विभिन्न आरोप लगाउँदै बोलेको विषय बाहिरिएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो । तर उनले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई रामेछाप जिल्ला सभापतिबाट आजैको मितिदेखि लागू हुने गरी निलम्बन गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

त्यस्तै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण र उनको जवाफ तथा अन्य प्रक्रियाहरुलाई यथास्थितिमा राखिएको समेत उनले बताए ।

‘नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३/०१/०७ गतेको निर्णय अनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टिकरण सोधिएकोमा निजले पार्टी नेतृत्वका विरुद्धमा वद्नियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको कुरालाई स्वीकार गरी त्यस्तो अभिप्राय थिएन भनी मिति २०८३/०१/०८ गतेका दिन दिनु भएको स्पष्टिकरण जवाफ प्रारम्भिक रुपमा हेर्दा सन्तोषजनक एवं चित्तवुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकोले निज पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ,’ कांग्रेसको अनुशासन समितिको बैठकको निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?