सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा

लोकपथ
21
Shares

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले डिजेलको मूल्यवृद्धिसँगै अन्तरप्रदेश सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको नयाँ भाडादर लागू गरेको हो ।

विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा स्वचालित रूपमा भाडा समायोजन गर्दै आएको जनाएको छ ।

सोही व्यवस्थाअनुसार पछिल्लो पटक डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा पुगेपछि वैशाख ३ गतेदेखि लागू हुने गरी भाडादर पुनः समायोजन गरिएको हो ।

नयाँ निर्णयअनुसार यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा पाँच प्रतिशतले वृद्धि गरिएको विभागले जनाएको छ ।

भाडा वृद्धि भएसँगै लामो दूरीका यात्रु तथा ढुवानी व्यवसायमा प्रत्यक्ष असर पर्ने भएको छ । व्यवसायीहरूले इन्धन मूल्यवृद्धिका कारण भाडा समायोजन आवश्यक भएको बताएका छन् भने यात्रुहरूले लगातारको भाडा वृद्धिले थप आर्थिक भार परेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?