निर्वाचनको पराजयबाट पाठ सिकेर एमालेलाई पुनर्गठित गर्छौँ : विष्णुप्रसाद पौडेल

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा स्वीकार गर्दै एमालेलाई नयाँ ढंगले पुनर्गठन गर्ने घोषणा गरेका छन् ।

बुधबार आयोजित २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले फागुन २१ गतेको निर्वाचन परिणामबारे पार्टीभित्र गम्भीर समीक्षा गरिने बताए ।

पौडेलले विगत १० वर्षमा एमालेले दुईतिहाइ नजिकको सरकार गठनसम्मको ऐतिहासिक सफलता हासिल गरे पनि पछिल्लो निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनमै ठूलो धक्का दिएको स्वीकार गरे । उनले पार्टीको नीति, नेतृत्व, सङ्गठन, कार्यशैली र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समग्र समीक्षा गरिने बताए ।

उनले समीक्षा पश्चात् पार्टीको विचार, नीति र कार्यशैलीलाई ‘चेन्जिङ कन्टेक्स्ट’ अनुसार अद्यावधिक र परिमार्जन गरिने उल्लेख गरे । पार्टीबाट भएका कमजोरीप्रति जनतासँग निसङ्कोच क्षमायाचना गर्दै पुनः जनताको विश्वास जित्ने गरी आन्दोलनलाई पुनर्गठित गरिने उनको भनाइ थियो ।

पौडेलले पछिल्लो पराजयपछि केही कार्यकर्तामा निराशा र पलायनको प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसलाई समाधान नभएको बताए । उनले उग्रवामपन्थी भड्काउ प्रवृत्तिबाट पनि सतर्क रहन आग्रह गरे ।

उनले एमालेले दक्षिणपन्थी र उग्रवामपन्थी अवसरवादविरुद्ध सङ्घर्ष गर्दै जननेता मदन भण्डारी को नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्त विकास गरेको स्मरण गरे ।

पौडेलले ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्त रहेको उल्लेख गर्दै पराजयले त्यसको औचित्य समाप्त नगर्ने बताए । ‘हामी भुल सच्याएर फेरि उठ्छौँ, जनताको विश्वास जित्दै अगाडि बढ्छौँ,‘ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?