काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैशाख १५ गते मंगलबार चाबहिलबाट एक ३१ वर्षीय युवकलाई पक्राउ गर्यो । जेलबाट भागेका कैदी बन्दीको खोजी गर्ने क्रममा पक्राउ परेका ती युवक थिए, बागलुङको गलकोट नगरपालिका ९ मल्म घर भई नवलपरासीको गैँडाकोट १२ हर्कपुरमा डेरा गरी बस्ने ३१ वर्षीय सञ्जय विक ।
अपराध गरेर फरार हुने व्यक्तिहरूको खोजी सूचीमा सञ्जय अग्रपङ्क्तिमा रहेका एक अपराधी थिए । प्रहरीको खोजी सूचीको उच्च प्राथमिकतामा पर्नुको कारण थियो, उनले गरेको जघन्य अपराध र अदालतबाट भएको फैसला । किनभने कास्की जिल्ला अदालतले सञ्जय विकमाथि जन्मकैदको फैसला सुनाएको थियो । कास्कीको नागढुंगामा रहेको एक होटेलमा महिलालाई बलात्कारपश्चात् हत्या र लुटपाटसमेत गरेको प्रमाणित भएपछि उनीमाथि मुद्दा चल्दा अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
कास्की जिल्ला अदालतले २०८२ जेठ २६ गते फैसला सुनाउँदै हत्यामा सञ्जयको संलग्नता पुष्टि भई जन्म कैद अर्थात् २५ वर्षको कैद सजाय सुनाइएको थियो । घटनाको ८ महिनापछि पक्राउ परेका उनी त्यसपछि कास्की कारागारमै कैदी जीवन बिताइरहेका थिए । तर जेन जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते उनी कास्की जिल्लाबाट फरार भएका थिए । त्यसपछि प्रहरीले उनको व्यापक खोजी गरिरहेको थियो ।
पहिले कास्कीको नागढुंगामा सञ्जयले कसरी एक महिलाको हत्या गरेका थिए, त्यो जानौँ ।
२०८० साल मंसिरको ५ गते साँझ तनहुँको भिमाद घर भई कास्कीको पोखरा महानगरपालिका ८, नागढुंगामा बस्ने ३९ वर्षीय सुकु विकको हत्या भएको थियो । पोखराको नागढुंगामा रहेको युनिक होटेलको कोठा नम्बर २०२ मा सुकु विक अचेत अवस्थामा फेला परेकी थिइन् । अचेत अवस्थामा रहेकी उनलाई उद्धार गरेर स्थानीय चरक अस्पतालमा लगिए पनि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको थियो ।
घटनाको अघिल्लो रात अर्थात् मंसिर ४ गते साँझ ७ बजेको समयमा सुकु विक र अर्का करिब ३० वर्षका युवक नागढुंगाको युनिक होटेलतर्फ गइरहेको नजिकैको सिसिटिभी फुटेजमा देखिएको थियो । होटेलमा भने सिसिटिभी थिएन । युवकले टोपी लगाएर आफ्नो अनुहार नै नचिन्ने गरी छोपेका थिए भने नर्थ फेस लेखेको निलो रङको ज्याकेट लगाएका थिए । होटेलमा पुग्दा युवकले आफ्नो नाम राजन गुरुङ भनी लेखाएका थिए ।
सुकुको बारेमा बुझ्दा उनी विगत २ वर्षदेखि पृथ्वीचोकमा रहेको शिला रेस्टुरेन्टमा काम गर्ने गरेको पत्ता लगायो । घटनाको अघिल्लो दिन नै साथीलाई भेट्न जान्छु भनेर निस्किएकी उनी युवकसँग युनिक होटेलमा पुगेकी थिइन् । तर उनको त्यहीँ बलात्कारपछि हत्या र लुटपाटसमेत भएको थियो । सुकुको साथमा रहेको सुनको सिक्री र आईफोनसमेत हत्याराले लगेका थिए ।
घटनाको अनुसन्धान गरेको प्रहरीले सुरुमा ६ जनालाई पक्राउ गरेको थियो । तर घटनामा संलग्नता नपाइएपछि उनीहरुलाई छाडिएको थियो ।

मंसिर ५ गते भएको घटना भए पनि प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गर्न सकेको थिएन । सुकुले लगाएको सुनको सिक्री हराएको र मोबाइलसमेत लुटिएको कारण प्रहरीसँग यी दुई वस्तुको पिछा गर्नुबाहेक अन्य विकल्प थिएन । सुकुसँग नियमित कुराकानी हुने व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ गरे पनि कुनै क्लु पत्ता लागिरहेको थिएन । कास्की प्रहरीले आफ्नो क्षेत्रका सबै सुन पसलमा पुगेर शंकितको खोजीसमेत गरेको थियो । तर कुनै प्रमाण फेला पर्न सकेको थिएन ।
तर एकाएक घटनाको ८ महिनापछि चमत्कार भयो । सुकु विकको मोबाइल एकाएक यक्टिभ भयो । हत्याको समयमा सुकुसँग भएको आईफोन १३ प्रो म्याक्स मोबाइल चलेको पाइयो । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको प्रहरीले सुकुको मोबाइल चलाउने महोत्तरीका राजेश बुढाथोकीलाई तत्कालै नियन्त्रणमा लियो । त्यसपछि राजेशसँग सोधपुछ गर्दा आफूले अर्कै व्यक्तिसँग ४० हजार ५ सय रुपैयाँमा मोबाइल किनेको भन्दै ती व्यक्तिको खोजीमा सघाए ।
त्यही आईफोनको क्लुबाट खोजी गर्दै जाँदा प्रहरीले नवलपुरको गैँडाकोट १२, हर्कपुरमा रहेको डेरा कोठाबाट बागलुङको गलकोट नगरपालिका ९ मल्म स्थायी ठेगाना भएका ३१ वर्षीय सञ्जय विकलाई पक्राउ गर्यो । सञ्जयलाई पक्राउ गरी खानतलासी गर्दा उनको डेरा कोठाबाट घटनाको अघिल्लो दिन सुकुसँगै रहँदा लगाएको नर्थ फेस लेखिएको निलो रङको ज्याकेट, क्याप टोली, पोको मोबाइल र त्यहाँ सुकु विकको सम्पर्क नम्बर तथा कुराकानीको प्रमाण र केही स्कृनसट समेत फेला पर्यो ।

सञ्जयको मोबाइलको थप अनुसन्धान गर्दा स्कृनसट गरी राखिएको सुकुको फोटो तथा आई फोन समातेर खिचेको सञ्जयको फोटोसमेत फेला पर्यो । त्यसपछि थप अनुसन्धान गर्दा सुकुले लगाएको सुनको सिक्री र मुन्द्रासमेत सञ्जयले बिक्री गरिसकेको खुल्यो ।

त्यसपछि सञ्जयलाई कास्की ल्याएर थप अनुसन्धान गर्दा हत्याको समयमा सञ्जय कास्कीको पोखरा ७ घारीपाटनमा श्रीमती र छोरासहित डेरामा बस्ने गरेको पाइएको छ । हत्याको लगत्तै सञ्जय भने पोखरा छाडेर गैँडाकोटमा गएर बसेको पाइएको थियो ।
प्रहरीले आरोपितलाई सुकुलाई देख्ने र चिन्ने व्यक्तिहरू तथा होटेलका कर्मचारीलाई देखाउँदा हत्याको अघिल्लो दिन होटेलमा लैजाने व्यक्ति र सुकुसँगै रहेका व्यक्ति सञ्जय नै रहेको पुष्टि भएको थियो । त्यसपछि मात्रै सञ्जयले सुकुको हत्या आफूले गरेको स्वीकार गरेका थिए ।
वास्तवमा एक कमन ट्रेन्डमार्फत सञ्जय र सुकुको चिनजान भएको थियो । छोटो चिनजानमै उनीहरू नजिकिएका थिए र विवाहसमेतको कुराकानी भएको थियो । तर सुकुसँग रहेको सुनको सिक्री, मुन्द्रा तथा आई फोन १३ प्रो म्याक्सको लोभले गर्दा सञ्जयले एक रात बसिसकेपछि भोलिपल्ट होटेलकै कोठामा रहेको सिरानीले नाक मुख थुनी घाँटी थिचेर हत्या गरेका थिए ।
सञ्जय थिए पेसेवर अपराधी

त्यसो त सञ्जयले अपराध गरेको पहिलो पटक थिएन । उनीमाथि २०७२ असारमै कास्कीमै भएको एक चोरीको घटनामा मुद्दा चलेको थियो । त्यस्तै २०७३ भदौ १ गते वडा प्रहरी कार्यालय बैदामले सञ्जयमाथि अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको थियो ।

कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीका अनुसार सञ्जय यसअगाडि पनि विभिन्न अपराधमा संलग्न रहेको व्यक्ति हुन् । बागलुङमै भएको अर्को एक अपराधमा पनि संलग्न रहेको प्रहरीको आशंका रहेको छ । उनी पेशेवर अपराधी रहेको एसपी कार्कीले बताए ।
कास्की जिल्ला अदालतबाट जन्मकैदको फैसला
सुकु विकको जबरजस्ती करणी पश्चात् भएको हत्या र लुटपाटको घटनामा ८ महिनापछि पक्राउ परेका सञ्जय विकमाथि अभियोजन हुँदा कास्की जिल्ला अदालतले २०८२ जेठ २६ गते सञ्जयलाई जघन्य अपराधमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि उनलाई जेल सजायका लागि कारागार कार्यालय कास्कीमा पठाइएको थियो ।
तर २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनपछि सञ्जय जेलबाट भाग्न सफल भएका थिए ।
कारागारबाट भागेपछि फेरि लुटपाट र हत्याको आशंका
२०८२ भदौ २४ गते कास्की कारागारबाट भागेका यिनै सञ्जय विकले गत चैत २२ गते नवलपरासीको देवचुली नगरपालिका १६ टाँडीकोटमा एक वृद्ध दम्पत्तिमाथि आक्रमण गरी हत्या र लुटपाट गरेको आशंका गरिएको छ ।
गत चैत २२ गते टाँडीकोटमा रहेको आफ्नै घरमा बसिरहेका ७५ वर्षीय जीवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई घरेलु हतियारले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाइएको थियो । वृद्ध दम्पत्तिमाथि गम्भीर आक्रमण गरी उनीहरूको साथमा भएको सुनका गरगहना र नगदसमेत लुटेर लगेका थिए । आक्रमणबाट घाइते भएका जीवनराम थनेतको उपचारको क्रममा मृत्यु भइसकेको छ भने उनकी पत्नी गुलाबसिनिया थनेत हालसम्म पनि अचेत अवस्थामै उपचार भइरहेको छ ।
उक्त घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा सञ्जयकै संलग्नता हुन सक्ने केही प्रमाण प्रहरीले फेला पारेको छ । घटनाको दिन सञ्जय सोही क्षेत्रमा देखिएको थियो भने घटनामा उनकै संलग्नता हुनसक्ने अन्य क्लु समेत फेला परेको छ ।
सञ्जयलाई नियन्त्रणमा लिन पुगेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिलकुमार घिमिरेको टोलीले सञ्जयको साथबाट ३ लाख रुपैयाँभन्दा बढी रकम फेला पारेको छ । सञ्जयले उक्त रकमको स्रोत खुलाउन सकेका छैनन् ।
डिएसपी घिमिरेका अनुसार प्राविधिक विश्लेषण गर्दा नवलपरासीमा भएको घटनाको दिन सञ्जय सोही स्थानमा रहेको पुष्टि भएको छ ।
नवलपरासीमा भएको घटनामा समेत संलग्नताको आशंका गरिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सञ्जयलाई जिल्ला प्रहरी कार्यालय कावासोती, नवलपरासीमा थप अनुसन्धानका लागि पठाइएको कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले लोकपथलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया