खानेपानीको समस्या समाधान गर्दै नेवा

लोकपथ
0
Shares

ढोरपाटन ।  बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक वर्षअगाडि सम्म खानेपानीको हाहाकार थियो ।

स्थानीयवासीले एक गाग्री पानी भर्न चार घन्टा हिँडेर टाढा पुग्नुपथ्र्यो । तर अहिले स्थानीयवासीको घरघरमा धारा बनेका छन् । गाउँभन्दा खानेपानीको मुहान टाढा हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्नु परेको थियो ।

अघिल्लो वर्ष नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बडिगाड गाउँपालिकाको सहकार्यमा सिसाखानी गाउँमा एक घर एक धारा बन्यो । एक घर एक धारा निर्माण भएपछि सिसाखानीवासीको वर्षौंदेखिको समस्या समाधान भएको छ । अहिले गाउँगन छेउकै धारामा प्रशस्त पानी आउन थालेपछि स्थानीयवासीको दैनिकीसमेत फेरिएको छ । गाउँमा खानेपानीको चरम अभाव भएपछि नेवा र बडिगाड गाउँपालिकाले  ७० लाख ३७ हजार ७२ लागतमा एक घर एक धारा निर्माण गरिदिएका हुन् ।

गाउँमा निर्माण भएका ८३ धारोबाट स्थानीयवासी लाभान्वित भएका छन् । एक घर एक धारा निर्माणका लागि नेवाले  ५३ लाख ५७ हजार र बडिगाड गाउँपालिकाले  छ लाख ८० हजार लगानी गरेका छन् । नेवाले जिल्लाका धेरै गाउँमा एक घर एक धारा निर्माण गरिरहेको छ । जहाँ खानेपानीको हाहाकार छ, नेवा त्यहाँका स्थानीयवासीको सारथी बनिरहेको छ । वर्षौंदेखि घन्टौँ लगाएर पानी बोकेर उपभोग गर्दै आएका स्थानीयवासी घरमै धारा बनेपछि दङ्ग परेका छन् ।

खानेपानीकै लागि घन्टौँ खर्चने स्थानीयवासी अहिले अन्य काममा व्यस्त हुन थालेका छन् । घरघरमा धारा बनेपछि गाउँलेको दैनिकीमा परिवर्तन आएको बडिगाड गाउँपालिका–३ सिसाखानीस्थित सोलीघोप्टे खानेपानी आयोजनाकी अध्यक्ष फुलमाया विकले बताए । उनले बिहान अँध्यारै उठेर पानी ल्याउन पँधेरो जाने र फर्किंदा बालबालिकालाई विद्यालय पढाउन ढिला हुने गरेको बताए ।

विकले भने, “यो गाउँमा खानेपानीको समस्या भएको वर्षौंदेखि हो, अहिले बल्ल घरघरमा धारा बन्यो र पानी आउन थाल्यो, चार घन्टा पूरै लगाएर खानेपानी ल्याउनु पथ्र्यो, अहिले पानी बोक्नका लागि गाग्रीसमेत उचाल्न परेको छैन, अहिले त केटाकेटीलाई स्कुल समयमै पठाइन्छ, सरसफाइ र तरकारी खेतीमा पनि सहज भएको छ, गाउँलेको जीवननै बदलिएको छ, म त निकै खुसी भएको छु, अब पहिलेको जस्तो दिन आउँदैन होला ।”

घरमा धारो नबन्दा चार घन्टा लगाएर स्यालाखोला र छहराखोलाबाट पानी लिएर उपभोग गरेको विक बताउछन् । नेवाले जिल्लाको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा पनि एक घर एक धारा निर्माण गरिदिएको छ । निसीखोला गाउँपालिकाको सहकार्यमा नेवाले यहाँ ८७ धारा निर्माण गरेको छ । जाउलेपानीमा  ४७ लाख ६५ हजारको लागतमा धारा निर्माण गरिएको नेवाका सबओभरसियर धनवीर सावतले जानकारी दिएका छन् ।  गाउँपालिकाको चार लाख ९६ हजार र नेवाको  ४२ लाख ६८ हजारको लागतमा यस गाउँमा सहज खानेपानीको व्यवस्थापन गरेको सावतको भनाइ छ ।

स्थानीयवासी धाटबहादुर घर्ती मगर व्यवस्थित धारा नहुँदा दूषित पानी उपभोग गर्दै आएको भन्दै अहिले घरमै शुद्ध पानी आउने गरेको बताए । जाउलेपानी खानेपानी आयोजनाका अध्यक्षसमेत रहेका घर्ती मगरले पहिले गाउँमा एउटा धारा एउटो टोलले प्रयोग गर्दा समय–समयमा झैझगडा हुने र सहज रुपमा पानी भर्न नपाएको बताए । घरमै धारो बनेपछि बारीमा तरकारी लगाउन र पशुचौपायालाई पेटभरि खुवाउन पाएको उनको भनाइ छ ।

“गाउँमा पहिला पनि धारा त थिए तर अहिलेको जस्तो एक घर एक धारा थिएनन्, एउटा धारोबाट आठ १० घरकाले पानी खानु पथ्र्यो, अहिले त त्यो समस्या हट्यो,” अध्यक्ष घर्ती मगरले भने, “पहिला खुला दिसामुक्त गाउँ घोषणा भए पनि पानीको समस्या हुँदा समस्या थियो, अहिले बल्ल पूर्ण रुपमा कार्यान्वयन हुँदैछ, अब कोही पनि पानीका लागि झगडा गर्नु पर्दैन, अहिले त गाउँलेहरु पनि धेरै खुसी भएका छन्, नेवाले ठूलो सहयोग गर्यो, हामीहरुले पनि जनश्रमदान गर्यौँ ।”

नेवाले यस वर्ष जिल्लाभर एक हजार पाँच सय चार धारा निर्माण गर्ने लक्ष्य राखको छ । चालु आर्थिक वर्षको हालसम्म आठ सय १० धारा निर्माण गरिसकेको र अझै छ सय ९४ धारा निर्माणाधीन अवस्थामा रहेको नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले जानकारी दिएका छन् । नेवाले चालु आर्थिक वर्षमा छ करोड ६७ लाखको बजेटमा जिल्लाभर धारा बनाउन थालेको कोइरालाले बताए ।

हालसम्म छ करोड ४० लाख बढीका योजना सम्पन्न भएको उनको भनाइ छ । संस्थाले खानेपानीको चरम अभाव भएका स्थानका नागरिकहरुलाई सहज रुपमा खानेपानीको पहुँच पुर्याउने उद्देश्यले काम गरिरहेको भन्दै यस वर्षको योजना सम्पन्न भएपछि धेरैले खानेपानीकै लागि धेरै सास्ती खेप्नु नपर्ने उनको भनाइ छ । खानेपानीको अभाव भएका ठाउँबाट माग गरेअनुसार नेवाले आवश्यकताका आधारमा काम गरिरहेको भन्दै धेरैलाई खानेपानीको सहजता प्रदान गर्न आफूहरु लागिपरेको बताए।

कोइराला भन्छन्, “हाम्रो मुख्य उद्देश्य नागरिकलाई सहज रुपमा स्वच्छ र सफा पानी खुवाउनु हो, सोही अनुसार संस्थाले काम गरिरहेका छौँ, अहिले धेरै नागरिकलाई सहज हुँदै गएको छ, यस वर्षका योजना सकिए भने धेरै नागरिक खानेपानीको सहज पहुँचमा आउँछन्, हामीले पनि धेरैलाई सहज पु¥याउने उद्देश्यले काम गरिरहेका छौँ, अहिले योजना नपरेका ठाउँमा आगामी वर्षमा हुनेछ ।”

चालु वर्षमा जनश्रमदान, समुदायको सहयोग, गाउँपालिका तथा नगरपालिका र नेवाको गरी रु ११ करोड १७ लाख ४० हजार दुई सय १२ लागतको काम भइरहेको नेवा बागलुङले जनाएको छ । नेवाले यस वर्षदेखि म्याग्दीमा पनि काम गर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?