बेदकोट । महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा र अघिल्तिर भरिभराउ खरभुजा रहेका छन् ।
किनमेल गर्नेको त्यस्तै भीडभाड हुन्छ । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ । शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन् । घाम छल्न त्रिपाल टाँगिएको छ । त्रिपालमुनि बसेर कोही ग्राहक कुरिरहेका छन् । कोही खरभुजा तौलिनमा व्यस्त देखिन्छन् । खरभुजाको मोलमोलाइ पनि चलिरहेकै छ ।
यहीँ भीडमा कृष्णपुर नगरपालिका–२ वाणीका जगदेव राना खरभुजा बिक्री गरिरहेको भेटिए । उनले वनहरा नदीको बगरमा पाँच कठ्ठा क्षेत्रमा खरभुजा खेती गरेका छन् । “यो सिजनमा एक साता भयो खरभुजा बिक्री गर्न थालेको छ, अहिलेसम्म १५ हजारको बिक्री गरेँ”, उनले भने, “दैनिक एक हजारदेखि दुई हजारसम्मको बिक्री हुन्छ ।”
जगदेवको परिवार नै बगरमा खरभुजा खेती गर्नमा खटिने गरेका छन् । बङ्ककी ५० वर्षीया नथ्थु बडायकले राजमार्ग छेउमा त्रिपाल थापेर खरभुजा बिक्री गर्न लागेको दुई दशक बितिसक्यो । अनडैया भन्ने ठाउँमा बस्ने उनि आरक्ष विस्तारका क्रममा विस्थापित भएका थिए। अनडैयाबाट विस्थापित भएपछि उनिसँग खेतीपातीका लागि जमिन थिएन । त्यसपछि बगरमा खरभुजा खेती गरेर जीविकोपर्जन गर्दै आएको उनले बताए ।
“कसैले जमिन पाए, कसैले पाएनन्, हामीले जमिन नपाएपछि यहाँ बस्दै आएका हौँ”, उनले भने, “खेतपातीका लागि जमिन छैन, सिजनमा बगरमा तरभुजा खेती गरेर जीवन धानेका छौँ ।” वनहरा पुल क्षेत्रमा तरभुजा बेचेर जीविकोपार्जन गर्नेमा अधिकांश आरक्षपीडित रहेका छन् । अहिले राजमार्ग क्षेत्रको वनहरा पुल क्षेत्रमा ९० जनाभन्दा बढी खरभुजा बेचेर घर खर्च चलाइरहेका छन् ।
गत चैत अन्तिम सातादेखि जेठसम्म खरभुजा बिक्री गर्ने गरेको उनिहरूको भनाइ छ । बङ्ककै ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट तरभुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्छन् । “शुरुमा घरमै खानलाई मात्रै खरभुजाको खेती गर्थेँ, राम्रो आम्दानी हुन थालेपछि सात–आठ वर्षदेखि व्यावसायिक रूपमा खेती गरिरहेको छु”, उनले भने, “बर्खामा मजदुरी गरेर घर खर्च चलेको छ ।”
उनका अनुसार प्रत्येक वर्षमा खरभुजा बिक्री गरेर ३० हजारदेखि ४० हजारसम्म बचत हुने गरेको छ । “छोराछोरीको विद्यालयको खर्च, राशनको जोहो सबै खरभुजा बेचेर आएको पैसाबाट हुन्छ”, मानबहादुरले भने, “३० हजारदेखि ४० हजारसम्म लगानी लाग्छ ।”
मानबहादुरको परिवारका छ सदस्य नै खेतीमा जुट्ने गरेका छन् । माघदेखि बगरमा खरभुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि खरभुजा बिक्रीका लागि बजारमा ल्याउने गरिन्छ । खरभुजा प्रतिकेजी २५ देखि ४० सम्म बिक्री गर्ने गरिएको छ । बेला–बेलामा वनहरामा आउने बाढीले खेतीमा नोक्सानी गर्ने गरेको नथ्थु बडायकले बताए । “गत वर्ष बाढीले सबै बगायो, लगानी पनि असुल भएन”, उनले भने, “बाढीले नोक्सान नगरे सिजनमा राम्रै आम्दानी हुन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया