नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत विशेष अनुदानमा फुसका छाना हटाउने भएको छ ।
गाउँपालिकाभित्रका सबै फुसका घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित घर बनाउन योजना अघि बढाइएको खजुरा गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पहिलो चरण अन्तर्गत चालु आर्थिक वर्षमा एक सय ५६ घरधुरीमा फुसका छाना हटाएर टिनको छाना लगाइने जानकारी दिएका छन् ।
“लाभग्राहीसँग सम्झौता शुुरु भइसकेको छ, यसलाई वैशाख १४ गतेभित्र सक्ने गरी काम भएको छ”, उनले भने । एउटा घरका लागि ५० हजार बजेट छुट्टाइएको छ ।
यसका लागि गाउँपालिकाले केही समयअघि सूचना प्रकाशित गरेर टिनको छाना लगाउन चाहनेलाई आवेदन दिन आग्रह गरेकोमा एक सय ५७ परिवारले आवेदन दिएका छन् । तर एक जनाको आवेदन विवादित भएकाले उनको विषयमा छानविन भइरहेको जनाइएको छ ।
खजुराले फुसको छाना हटाइ टिनको छाना लगाउन ८० लाख बजेट छुट्ट्याएको छ । पहिलो चरणमा एक सय ५६ घरमा टिनको छाना लगाउने गरी सहयोग गरिने गाउँपालिका अध्यक्ष डम्बर विकले बताए ।
“यसपटक पालो नपाउनेले अर्को वर्ष प्राथमिकतामा पर्नुहुनेछ, गत वर्ष सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत एक सय ८७ जनाले फुसको छाना हटाएर जस्ता पाता लगाउने सेवा लिएको छ”, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया