काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दोलखा जिल्ला अध्यक्ष तोकिएको विषयको विवाद पार्टी सभापति शेरबहादुर देउवासम्म पुगेको छ ।
नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामाले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जिल्लाले सर्वसम्मत निर्णय गरेको विषयमा हस्तक्षेप गरि विवाद सिर्जना गरेको भन्दै तत्काल बर्खास्त गर्न मागसहितको पत्र सभापति देउवालाई पठाएका छन् ।
‘पार्टीको जिल्ला तहले गरेको निर्णय सर्वसम्मत र रिफारिसको अवमूल्यन गरी व्यक्तिगत स्वार्थ र संलग्नता तथा काठमाडौं तिरको निकटताको आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने नेपाल विद्यार्थी संघका असक्षम केन्द्रीय अध्यक्ष दुजाङ शेपालाई तत्काल बर्खास्त गर्न र दोलखा जिल्लाको हकमा पार्टीको बैठकको सर्वसम्मतले गरेको निर्णय तथा दोलखाली आम विद्यार्थीहरुको भेलाले चयन गरेका नेतृत्व र समितिलाई आधिकारिकता प्रदान गर्न अनुरोधका साथै जोडदार माग गर्दछौँ ।’ सभापति देउवालाई पठाइएको पत्रमा भनिएको छ ।
शेर्पाले केही दिन अघि नेविसंघ दोलखाको जिल्ला अध्यक्षमा प्रनिल तामाङलाई नियुक्त गरेका थिए । तर तामाङ जिल्लाको कुनै पनि पदमा नरहेको र साधारण सदस्य समेत नरहेको जिल्ला सभापति लामाको दाबी छ ।
सभापति लामाका अनुसार यसअघि गत माघ १० गते नै नेपाली कांग्रेस दोलखाले सौगात थापालाई नेविसंघको जिल्ला अध्यक्षमा नियुक्त गरेको थियो ।
लामाले सोमबार सभापति देउवालाई पत्र लेख्दै शेर्पालाई बर्खास्त गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया