काठमाडौं । महाराजगञ्जस्थित नर्सिङ क्याम्पसका सहप्राध्यापकमाथि अनेरास्ववियुका विद्यार्थीले हातपात गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको सन्दर्भमा नर्सिङ क्याम्पसमा नर्सिङ क्याम्पस र बाहिरबाट आएका अनेरास्ववियुका नेताहरु हातपात गरेका हुन् ।
स्ववियु निर्वाचन नजिकिँदै गर्दा यसअघि पनि अनेरास्ववियुका निकट विद्यार्थीहरुले क्याम्पस प्रमुख र प्राध्यापकहरुमाथि विभिन्न किसिमका धम्की दिँदै आइरहेको नेविसंघ नर्सिङ क्याम्पसकी इकाइ अध्यक्ष रजनी खड्काले लोकपथलाई जानकारी दिइन् ।
स्ववियु निर्वाचनका लागि आज दल दर्ताको समय तोकिएको थियो । बिहीबार नै क्याम्पसमा रहेका सबै संगठनहरुलाई दल दर्ताको आह्वान गरिएको थियो । प्रतिनिधि ल्याउन भनिएकोमा अनेरास्ववियु निकट विद्यार्थीहरुले नमानेपछि क्याम्पस प्रमुख मुना राणाले आधिकारिक चिठ्ठीसहित दल दर्ताको लागि आउन आग्रह गरेकी थिइन् ।
तर सो विषयको छलफलकै क्रममा सोही क्याम्पसकी स्ववियु निर्वाचन सदस्य समेत रहेकी सहप्राध्यापक मुना शर्मामाथि हातपात भएको खड्काले बताइन् ।
‘दल दर्ताकै विषयमा छलफल भइरहेको थियो । नर्सिङ क्याम्पस र बाहिरका समेत अनेरास्ववियु निकट विद्यार्थी नेताहरु आएर मुना म्याममाथि हातपात भएको हो ।’ उनले भनिन् ।
उनका अनुसार अनुरास्ववियु निकट नेताहरुले हातपात गर्दै दल दर्ताको लागि राखिएको फाइल र अन्य वस्तु प्रहार गर्दा शर्माको टाउकोमा चोट लागेको छ । उनीहरुले स्ववियुको कार्यालयमा समेत तोडफोड समेत गरेका छन् ।
बाहिरबाट समेत अनेरास्ववियुको नेताहरु परिचालन गरि प्राध्यापकमाथि हातपात हुनु दुखद रहेको नेविसंघ स्ववियु विशेष कार्यसमितका सदस्य डा. नरेश भट्टले लोकपथसँग बताए ।
भट्टले अनेरास्ववियुले चुनाव हार्ने डरले नर्सिङ क्याम्पस जस्तो संवेदनशील ठाउँमा हातपात गर्दै निर्वाचन भाड्न खोजेको भन्दै दोषीमाथि कारबाहीको माग समेत गरेका छन् ।
‘नर्सिङ क्याम्पस जस्तो संवेदनशील क्षेत्रमा यसरी हातपात हुनु निन्दनीय कार्य हो । दोषीमाथि कडा कारबाही हुनुपर्छ ।’ भट्टले भने ।
घाइते शर्माको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया