नेम्वाङलाई भोट माग्न पुगेका एमाले नेताले नेपालसँग गरे पार्टी एकतासम्मको छलफल

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमाले र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटघाट भएको छ ।

बिहीबार अवलोकननगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा नेताहरुबीच भेटघाट भएको हो ।

एमालेबाट राष्ट्रपतिका उम्मेदवार समेत रहेका सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्बीसुब्बा गुरुङ रहेका थिए । त्यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल लगायत नेताहरु रहेका थिए ।

भेटमा आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई मत मागेका थिए ।

भेटमा नेम्वाङलाई भोट माग्नुको साथै पार्टी एकताका विषयमा समेत छलफल भएको भोलिका दिनमा समेत वार्तालाई जारी राख्ने विषयमा समेत छलफल भएको पार्टी उपमहासचिव गुरुङले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गुरुङले भने, ‘हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ। अहिलेको चुनौतीको बीचमा दुई पार्टीलाई एक गर्ने कुरामा हामीबीच एक खालको सहमति भएको छ। यही अवसरलाई समातेर हामी फेरि पनि भेटघाट र छलफल अगाडि बढाउने दुई पक्षबीच साझा सहमति भएको छ।’

त्यस्तै आफूहरुबीच कुनै पूर्वाग्रह, रिसराग नभएको कारण पार्टी एकताको समेत सम्भावना प्रवल रहेको उनले बताए । साथै आजको छलफल सबै कोणबाट सकारात्मक रहेको उनको दाबी छ ।

‘समय बलवान छ समयको शक्तिले हामीबीचको आग्रह पूर्वाग्रह, रिस राग सबैलाई छोपेर अगाडि बढ्ने बाटो भेटेको छौँ ।’ उनले भने, ‘वार्ता सकारात्मक छ।’

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धनका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीले निर्णय गरिसकेको छ ।

त्यस्तै एमालेका उम्मेदवार नेम्वाङले आजै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग समेत छलफल गर्ने तयारी रहेको छ । भने कांग्रेस माओवादीसहितका दलहरुसँग समेत छलफल गर्ने तयारी रहेको नेम्वाङले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?