प्रदेश १ को सभामा ‘कोशी’ नामाकरणमाथि मतदान शुरु

लोकपथ
63
Shares

काठमाडौं । प्रदेश १ संसद बैठकमा ‘कोशी’ प्रदेश नामाकरण प्रस्तावको लागि मतदान शुरु भएको छ । सत्तापक्ष नेकपा (एमाले) का प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रस्ताव गरेको ‘कोशी’ नामलाई सभामुख बाबुराम गौतमले छलफलका लागि निर्णयार्थ पेश गर्दा बहुमतले स्वीकृत गरेको थियो ।

सोही सम्बन्धमा नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले प्रदेशको नाम ‘किराँत–लिम्बूवान–सगरमाथा’ प्रदेश हुनुपर्ने प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

स्वीकृत प्रस्तावमा नेपाली कांग्रेसका भूपेन्द्र राई, एमालेका रेवतीरमण भण्डारी र राप्रपाका गोपाल विश्वकर्माले समर्थन जनाएका थिए भने अस्वीकृत प्रस्तावको पक्षमा नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो, जसपाका निर्मला लिम्बूले समर्थन जनाई प्रदेशको नाम पहिचान र सामर्थ्यको आधारमा हुनुपर्ने माग राखेका थिए ।

प्रदेश नं १ को नाम ‘कोशी’ राख्ने प्रस्तावमाथिको छलफल केहीबेर अघि सकिएको छ । सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिएका थिए । दुई घण्टापछि शुरु भएको अर्काे बैठकमा सभामुख गौतमले प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्तावमाथि पक्ष र विपक्षमा मत विभाजन गर्न लागेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा कोशीको विपक्षमा नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ र राप्रपाका ६ सांसद प्रस्तावको पक्षमा छन् । कोशी प्रदेशको नामाकरणका लागि दुई तिहाई ६३ संसदको समर्थन चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?