प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता

लोकपथ
105
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मुख्यमन्त्री शाहले प्रदेश सभामा लिने विश्वासको मत र प्रदेशको विकास निर्माणका विषयमा छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयका मोहनराज जोशीले जानकारी दिए ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभामा ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत माघ २६ गते शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

शाहले शपथ ग्रहणकै दिन सानो आकारको तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए । उनले एकीकृत समाजवादीका एक र कांग्रेसबाट एक गरी मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री नियुक्ति भएको ३० दिनभित्र शाहले पनि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

मुख्यमन्त्रीले सम्भवतः फागुन १८ गते विश्वासको मत लिने तयारी गरेको बुझिएको छ । केन्द्रको राजनीतिक समीकरणमा आएको फेरबदलसँगै मुख्यमन्त्री शाहलाई विश्वासको मत पाउने सहज वातावरण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?