पूर्वअर्थमन्त्री शर्मासँग संसदीय विशेष छानबिन समितिले सोधपुछ गर्दै

लोकपथ
0
Shares

काठमाडौं । करका दर हेरफेर गरेको आरोपपछि राजीनामा दिएका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक सुरु भएको छ ।

समितिको बैठक बिहीबार बिहान सिंहदरबारमा सुरू भएको हो । बैठकमा निवर्तमान अर्थमन्त्री शर्माको उपस्थितिमा छलफल सुरु भएको जनाइएको छ । आजको बैठकमा पूर्वमन्त्री शर्मासँग छलफल हुने कार्यसूची अनुसार बैठकमा शर्मा उपस्थित भएका हुन् ।

यसअघि बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए ।

बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको भन्ने आरोप सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।

लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित छानबिन समितिमा खगराज अधिकारी, देव गुरुङ, मानबहादुुर विश्वकर्मा, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।

समितिमा एमालेबाट ४, कांग्रेस र माओवादीबाट दुई–दुई तथा एकीकृत समाजवादी, जसपा र लोसपाका एक–एक जना सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?