काठमाडौँको नयाँबानेश्वरको कोलाहल र भीडभाडदेखि अलिकति पर एउटा छुट्टै परिवेश छ । मन्दिर, चियापसल, पानी पुरी स्टललाई आफ्नो सानो आयाममा समेटेको यो ठाउँमा मान्छेको चहलपहल कहिल्यै टुट्दैन ।
मन्दिरबाट आएको धुपको वास्ना र त्यहीँ छेउमा भएको चिया पसलबाट उडिरहेको चियाको वाफ मिसिएर बेग्लै सुगन्ध फैलिएको हुन्छ यहाँको वातावरणमा । यसमा आंशिक भूमिका चुरोटको धुवाँले पनि खेलेको हुन सक्छ । जे होस बेग्लै सानो संसारको अनुभूति दिने यो ठाउँमा मान्छेको कमी हुँदैन ।
वर्षौंदेखि यसरी नै साझा चौतारीका रुपमा स्थापित यस ठाउँमा केही मन्दिर गएर धर्म कमाउनलाई पुग्छन् । भने बढी चाहिँ चियाकै लागि आउने गर्छन् । करिब २ दशकदेखि छक्कुबक्कु चिया पसलको नामले परिचित यो चिया पसल अहिले छुट्टै ब्राण्ड नै बनिसकेको छ ।
त्यसैले चियाका पारखीहरुका लागि छक्कुबक्कु नौलो नाम होइन ।
कतिले त यसलाई आफ्नो नियमित भेटघाट गर्ने ‘जक्सन’ समेत बनाइसकेका छन् ।

ताप्केबाट शुरु गरेको यात्रा
दिउँसो ४ बजेतिर यस परिसरमापुग्दासधैं जस्तै मान्छेहरुको भीडभाड देखिन्थ्यो ।
सबै छरप्रष्ट भएर छरिएका । कोहीबाहिर कोहीभित्र ।
भित्र टेबल वरिपरि राउन्ड भएर बसेका ७० वर्ष जतिका पाकाहरु कुन्नी के सम्झिँदै खित्का छोडेर हाँसिरहेछन् ।
चियाबाट आएको वास्नाले सबैको नजर उतै फ्याकियो । पुलुक्क !
‘सुरुप्प !’ त्यहीँ छेउमा उभिएका ३ जना अँधवैसे पुरुषहरुको समूह केही भावुक मुद्रामा चियाको चुस्की लिँदै छन् । थकित छन् शायद, दिनभरिको कामबाट । अनि धेरथोर जीवनबाट पनि ।
यसरी भिन्नभिन्न प्रकारका मान्छेको साझा चौतारी बनेको छक्कुबक्कु चिया पसलको आफ्नै इतिहास छ । इतिहास करिब दुई दशक लामो छ । मायाश्रेष्ठ त्यही इतिहासलाई निरन्तरता दिइरहेकी छिन् ।
माया श्रेष्ठ, ४६ वर्ष, छक्कुबक्कु चियापसलकी जन्मदाता । उनको आवाज कडा, स्वभावपनि उस्तै । संघर्षले उनलाई यस्तो बनाएको पनि हुन सक्छ ।
हट लेमनको चुस्की लिँदै उनी ‘फ्लास ब्याक’मा गइन् ।एकछिन सोचमा हराइन् । ‘म बिहे गरेर आउँदा मेरो बुडोसँग सम्पत्तिको नाममा केही थिएन ।’ आफ्नो मौनता तोड्दै उनी बोलिन् । ‘पढाइ शून्य । कालो अक्षर भैंसी बराबर । सीपपनि केही थिएन । कसरी बाँच्ने त ?’ आफ्नो नेवारी लवजमा उनले थपिन् ।
कुनै उपाय नरहेपछि श्रेष्ठ दम्पत्तीले चियापसल थाप्ने योजना बनाए तर कोठा भाडा लिएर व्यवस्थित रुपमा व्यवसाय गर्ने हैसियत उनीहरुको थिएन । त्यसैले बानेश्वरको फुटपाथमा नै आफ्नो सानो व्यापार शुरु गरे ।
‘एउटा ठेला किनिम, एउटा ताप्के, एउटा डेक्ची अनि एउटा चिया छान्ने । यति लगानी गरेर शुरु गरियो ।’ आफ्नो पसल खोलेको पहिलो दिन सम्झिँदै उनी भावुक भइन् ।
फुटपाथमा पसल खोलेकाले भाडा तिर्नु परेन । यसले केही हदसम्म उनीहरुलाई राहत दिएतापनि घरी न घरी नगरपालिकाले फुटपाथमा पसल थाप्नेलाइ जरिवाना गरिदिनाले समस्या पनि झेलिरहनु परेको थियो ।

३ पाउन्ड दुधबाट चिया बनाउन शुरु गरेका श्रेष्ठ दम्पत्तीले क्रमश ५, ७, १० हुँदै ४० पाउन्ड दुधको चिया बेच्न थाले ।
अहिले दिनको कम्तीमा ६०–७० पाउन्ड दुधको चिया बिक्छ ।
व्यापार पनि सोचे जस्तै फस्टाउँदै गयो । त्यसैले फुटपाथमा कहिले झरी, कहिले नगरपालिकाको समस्या झेल्नु भन्दा सुरक्षित साथ कोठा भाडामा लिएर पसललाई अझै बढाउनु उपयुक्त लाग्यो उनीहरुलाई ।
९ वर्ष फुटपाथमा संघर्ष गरेपछि अन्ततःछक्कुबक्कु चियापसल सञ्चालनमा आयो । ग्राहकहरुले पनि त्यहाँको चिया रुचाउँदै गए । एकपटक आएका ग्राहक पटकपटक आउन थाले ।‘छक्कुबक्कु’ पपुलर भयो ।
कता हो कता सम्पत्ति जोड्न नसकेपनि छोराछोरीलाई राम्रो तरिकाले हुर्काइरहेका छौं । मूलपानीमा ८ कोठाको सानो आफ्नै घर पनि छ ।
यही पसलबाट भएको आम्दानी कै भरमा उनीहरुले आफ्ना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिइरहेका छन् ।
एउटा ठेलाबाट शुरु गरेको चियापसलमा अहिले ३ जना कामदारले रोजगारी पाएका छन् ।
‘कता हो कता सम्पत्ति जोड्न नसकेपनि छोराछोरीलाई राम्रो तरिकाले हुर्काइरहेका छौं । मूलपानीमा ८ कोठाको सानो आफ्नै घर पनि छ ।’ सुनको दाँत टल्काउँदै उनी मुस्कुराइन् ।
मिहिनेत गर्नेलाई अवसरको कमी छैन भन्ने भनाइका ज्वलन्त उदाहरण हुन् श्रेष्ठ दम्पत्ती ।
यद्यपी आजकल चिनी, चियापत्ति, दुध जस्ता सामानहरुको भाउ बढेकाले व्यापार पहिलेभन्दा खस्किएको माया बताउँछिन् ।
‘सामानको भाउ बढेको बढ्यै छ । ग्राहकहरु भने सस्तोमा सेवा खोज्छन् । अनि हामी व्यापारीले चाहिँ के गर्ने ?’ यसो भन्दै गर्दा चाहिँ छक्कुबक्कुकि साहुनी थोरै कड्किइन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया