नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा

लोकपथ
70
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतमा दायर भएको ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा पेसी तोकिएकामा उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबारबाट सुरु भएको सुनुवाइमा वादी नेपाल सरकारका पक्षबाट सुरुवाती बहस सुरु भएको छ । कांग्रेस नेता बालकृष्ण खाँड, एमाले नेता टोप बहादुर रायमाझी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, बिचौलिया बेचन झा, सन्देश शर्मा, केशव प्रसाद दुलाल, सानु भण्डारी लगायतका ३१ जना व्यक्तिहरु प्रतिवादी रहेको बहुचर्चित भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

बुधबार न्यायाधीश खड्काको इजलासमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंबाट सहायक जिल्ला न्यायाधिवक्ताहरु छविलाल चालिसे, रोशन सुनार लगायतले बहस गरेका छन् । वादीको तर्फबाट बहस सकिएको छैन र बिहीबार पनि सरकारी वकीलकै तर्फबाट बहस हुने बताइएको छ ।

सरकारी वकीलको तर्फबाट बहस सकिएपछि प्रतिवादीहरु तर्फबाट बहस सुरु हुनेछ । ३० जना प्रतिवादी रहेको र एक प्रतिवादीका दुई भन्दा बढीसमेत कानुन व्यवसायी रहेको कारण यो बहस पूरा हुन केही दिन लाग्ने बुझिएको छ ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकीलको तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि अदालतले उक्त मुद्दामा फैसला सुनाउनेछ ।

२०८० जेठ १० गते ३० जना व्यक्तिलाई प्रतिवादी बनाएर दायर भएको यस मुद्दामा पछि दुईवटा पूरक मुद्दासमेत दर्ता भइसकेको छ । पछि बेचन झाविरुद्ध समेत मुद्दा दर्ता भएकामा हालसम्म ७४ पटक उक्त मेद्दा पेसीमा चढिसकेको छ ।

३ वर्ष पूरा भएपछि बल्ल उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो । नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सरकारमै रहेका र सरकार बाहिर रहेका गिरोहले प्रतिव्यक्ति ६० लाख रुपैयाँसम्म उठाएर ठगी गरेका थिए ।

भुटानी शरणार्थी बनाएर उनीहरुलाई नक्कली कागजात बनाई अमेरिका पठाउने भन्दै करोडौं रकम उठाइएको थियो । तर उनीहरुलाई अमेरिका पठाउन नसकेपछि पीडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेक नारायण पाण्डे, एमाले नेता टोप बहादुर रायमाझी, एमाले नेता राम बहादुर थापा बादलका छोरा प्रतीक थापा लगायतका व्यक्तिहरुको संलग्नता पाइएको थियो । सोही आधारमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा बालकृष्ण खाँड पछि उच्च हअदालतबाट धरौटीमा छुटेपनि उमाले नेता टोप बहादुर रायमाझी, तत्कालीन गृहसचिव टेक नारायण पाण्डे, विबचौलियाहरु केशव दुलाल, सानु भण्डारी लगायतका व्यक्तिहरु भने अझै पनि थुनामै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?