पुरस्कार र दण्डको नीतिलाई कडाइका साथ लागू गर्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

लोकपथ
231
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरूमा पुरस्कार र दण्डको नीतिलाई कडाइका साथ लागू गर्दै राष्ट्र, संगठन र आमजनताको अपेक्षाअनुसार कार्यक्षेत्रमा खटिँदा कुनै पनि कमीकमजोरी नगरी थप व्यावसायिकता र ऊर्जाका साथ कार्य गर्न निर्देशन दिएका छन् । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मंगलबार महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटको कमान्डमा खटी जान लागेका अधिकृतहरूलाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट सो निर्देशन दिएका हुन् । 

उनले आफूमातहत कर्मचारीहरूको मनोबल उच्च राखी समयमै समस्या र आवश्यकतालाई पहिचान गर्दै तल्लो तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्नुपर्ने बताउँदै मातहत कर्मचारीहरूको पिर, मर्का र गुनासालाई चेन अफ कमान्डमा ल्याउन निर्देशन दिए । 

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले फिल्डमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूले नतिजामुखी कार्य गर्न सकियो भने राष्ट्र र संगठनको नाम उच्च रहने मात्र नभई कमान्डर र तल्लो तहसँगको सामिप्यता बढ्ने कुरामा जोड दिँदै हामीले गर्ने प्रत्येक राम्रा तथा पारदर्शी कामकारबाहीहरू जनस्तरमा समेत पुग्नुपर्ने बताए । 

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरू सस्तो लोकप्रियता र मिडियाबाजीमा ध्यान नदिई नयाँ जोस र ऊर्जाका साथ आफ्नो जिम्मेवारी र कर्तव्यलाई निर्धक्कका साथ पूरा गर्नेतर्फ अग्रसर तथा सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न सबै तहका कमान्डरहरूसमेत चनाखो भएर लाग्नुपर्ने बताए । 

उनले राजश्व चुहावट नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करीविरुद्ध कडारूपमा प्रस्तुत भई नेपाल सरकारबाट प्रतिबन्धित वस्तुहरू सीमाबाट भित्रन नदिन सशस्त्र प्रहरी कर्मचारीहरू थप सक्रियकातासाथ लाग्नुपर्ने बताए । 

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरूले मातहतका युनिटहरूसँग समन्वय र सहकार्य गरी हरेक कामकारबाहीको जानकारी लिई थप मजबुत बनाउनुका साथै सीमामा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरूले सरोकारवाला र समकक्षीसँगको समन्वय र सहकार्यलाई अझ बढी प्रभावकारी बनाउँदै अघि बढ्नसमेत निर्देशन दिए ।

आर्थिक पारदर्शिता, लैंगिक हिंसा, मानवअधिकारका विषयमा शून्य सहनशीलताको नीति संगठनले लिएको हुँदा सोहीअनुसार कार्य गर्न उनले निर्देशन दिए । 

हालैमात्र सल्यान र जाजरकोटमा गल्ती गर्ने कमान्डरलाई कारबाही गरिएको स्मरण गराउँदै उनले बीओपी नेचुङका कमान्डरमाथि पनि छानबिन भइरहेको र नेपाल  एपीएफ स्कुल कीर्तिपुरको विषयमा समेत हिजो जेठ २५ गते छानबिन समिति गठन गरेर सत्य तथ्य बुझ्ने प्रक्रियामा रहेको बताए । सोही अवसरमा विभागीय प्रमुखहरूले समेत आवश्यक निर्देशन दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?