गैरनेपालीलाई नागरिकताको सिफारिस गर्ने वडाध्यक्षसहित ४ जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । दाङमा झुट्टा विवरण पेस गरेर गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा वडा अध्यक्ष र वडा सचिवसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ का वर्तमान वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), सोही वडाका वडा सचिव राजेश कुमार कहार र तत्कालीन कार्यालय सहायक मिना चौधरी र झुट्टा विवरणका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने राजपुर गाउँपालिका ४ का आलम जोल्हा रहेका छन् ।

प्रहरीका अनुसार नागरिकता प्राप्त गर्नका लागि कुनै पनि योग्यता नपुगेका गैरनेपाली नागरिक आलम जोल्हालाई राजपुर गाउँपालिका–४ निवासी स्वर्गीय सनाउल्ला जोल्हाको छोरा कायम गराई कागजात मिलाइएको खुलेको छ ।

वडा अध्यक्ष, वडा सचिव र तत्कालीन कार्यालय सहायकको प्रत्यक्ष संलग्नता र मिलेमतोमा ती गैरनेपालीलाई गैरकानुनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने काम भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका चारैजना विरुद्ध नागरिकता सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?