एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङको बदमासी : स्कुलको खाताको साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा 

सशस्त्र मुख्यालयले थाल्यो छानबिन

लोकपथ
27.3k
Shares

काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलकी लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङले स्कुलको बैंक खातामा राख्नुपर्ने रकम व्यक्तिगत बैंक खातामा राखेको भन्दै उजुरी परेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । 

साढे ६ वर्षदेखि लगातार स्कुलको लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी सशस्त्र प्रहरी निरीक्षक गुरुङले चार वर्षदेखि स्कुलको साढे ४ करोड रुपैयाँ व्यक्तिगत बैंक खातामा राखी ब्याज खाइरहेको उजुरी परेपछि सशस्त्र मुख्यालयले छानबिन थालेको हो । 

स्रोतका अनुसार, सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार यस विषयमा उनीसँग सोधपुछसमेत गरेको थियो । स्कुलबाट घरायसी बिदा लिएर निस्किएकी उनलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा लामै समय ‘केरकार’ गरिएको थियो ।

सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित एपीएफ स्कुलकी लेखा अधिकृत गुरुङको यस्तो चरम बदमासीमा पनि कल्याणकारी कोषका एसपी राजकुमार लामिछाने किन मौन बस्दै आए ? गम्भीर प्रश्न खडा भएको छ । 

एपीएफ स्कुलमा राशनमा भ्रष्टाचार भएको भन्दै २०८२ साल मंसिर १४ गते राष्ट्रसेवकहरुको नाममा तत्कालीन गृहमन्त्रीलाई सम्बोधन गर्दै उजुरीसमेत परेको थियो । उजुरीको बोधार्थ सशस्त्र प्रहरी बल नेपाल, प्रधानमन्त्री कार्यालय, हेलो सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ट्रान्स्परेन्सी इन्टरनेसनल नेपाललाई दिइएको थियो । उजुरीमा ‘विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने खाना (रासन) को गुणस्तर घटाएर कल्याण कोषबाट  छुट्याइएको रकमको दुरुपयोग गरिरहेको, यस कार्यबाट मेस सचिव÷क्वार्टरमास्टरको मिलेमतोमा दैनिक करिब २० हजार रुपैयाँ बचत गरी अनियमित रूपमा लाभ लिइरहेको उल्लेख थियो । उजुरीमा भनिएको थियो, ‘यो भनेको विद्यार्थीहरूको आधारभूत आवश्यकतामाथि गरिएको क्रूरता हो । विद्यालयको कल्याण कोषबाट उपलब्ध गराइने खाना बापतको रकम गुणस्तरहीन गरी यसरी व्यक्तिगत लाभका लागि प्रयोग गर्नु गम्भीर वित्तीय अनियमितता हो । यस घटनाको तत्काल छानबिन गरिनु आवश्यक छ ।’

यो उजुरीपछि पुसको दोस्रो साता सशस्त्र प्रहरीको कानुन निर्देशनालयले लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक गुरुङ, मेस सचिव/क्वार्टरमास्टरसँग बयानसमेत लिएको थियो । तर त्यसबेला कसैमाथि पनि कारबाही भएन ।

अहिले लेखा अधिकृत गुरुङको बदमासी क्रमशः सार्वजनिक हुन थालेपछि एउटै व्यक्तिलाई साढे ६ वर्षदेखि लगातार किन राखियो भन्ने गम्भीर प्रश्न खडा भएको छ । अन्य लेखा प्रमुखलाई बढीमा दुई वर्ष एउटै कार्यालयमा राख्ने गरिएकोमा उनलाई कसको के स्वार्थमा वर्षाैंसम्म त्यहाँ राखियो ? यसको जवाफ कसले दिने ? 

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आँखा चिम्लिँदा उनको स्कुल बसाइले निरन्तरता पाएको हो । ‘फलस्वरूप लेखा अधिकृत गुरुङको बदमासीको ग्राफ बढ्दै गयो,’ स्रोतले भन्यो । 

शैलेन्द्र खनाल सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुँदा सो स्कुलको लेखा सम्हालेकी गुरुङ खनालपछि दुई जना आईजीपी परिवर्तन भएपनि त्यहीँ कार्यरत छिन् । खनालको पालामा दुई वर्ष लेखा प्रमुख भएकी गुरुङ निवर्तमान आईजीपी राजु अर्यालको चार वर्ष कार्यकाल सकिसकेपछि पनि त्यहीँ कार्यरत छिन् । 

सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदा एपीएफ स्कुलको लेखा सम्हालेकी गुरुङ अहिले सशस्त्र प्रहरी निरीक्षक छिन् ।

विगतमा कार्यदल र नम्बर २० गण सिनामंगलको समेत लेखा प्रमुखको जिम्मेवारी बहन गरिसकेकी गुरुङलाई लामो समयदेखि एउटै कार्यालय र काठमाडौं उपत्यकाभित्रै राखिएको भन्दै लेखा उपसमूहका अधिकृतहरू नै अचम्ममा पर्दै आएका छन् । 

लेखा समूहका एक अधिकृत भन्छन्, ‘हामीले चाहिँ पटक पटक काठमाडौं उपत्यका छाड्नुपर्ने, गुरुङले चाहिँ लगातार काठमाडौं, अनि एउटै कार्यालयमा ६–६ वर्षसम्म बस्न पाउनु पर्ने ?’

रोचक यो छ कि, सशस्त्र प्रहरीका जवानदेखि अधिकृतहरू एफपीयु मिसनमा आफ्नो पालो कहिले आउँछ भनेर कुरिरहेको बेला सशस्त्र प्रहरी निरीक्षक गुरुङ भने मिसनमा पनि आफ्नो नाम काटेर लेखा अधिकृतमै रमाइरहेकी छिन् । 

एपीएफ स्कुलकी लेखा अधिकृत गुरुङ बासुदेव ओली र सनतकुमार बस्नेत आईजीपी हुँदा केन्द्रीय लेखामा कार्यरत थिइन् । सशस्त्र प्रहरीमा भएको अनियमिततामा चार जना पूर्वआईजीपीलाई अख्तियारले मुद्दा चलाउँदा गुरुङको मुद्दालाई भने तामेलीमा राखिएको थियो ।

यो विषयमा लोकपथ डटकमले २०८२ साल मंसिर १६ गते नै समाचार प्रकाशित गरेको थियो ।

हेर्नुस् लिंक

सशस्त्रकी यी भाग्यमानी इन्सपेक्टर : जो ६ वर्षदेखि लगातार एउटै कार्यालयमा लेखा प्रमुख छिन्‌

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?