नेत्रहीन क्रिकेटको उपाधि बाग्मतीलाई

लोकपथ
14
Shares

काठमाडौं । पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले शनिबार जितेको छ । दुई खेलको टी– २० शृंखला बाग्मतीले २–० ले जितेको हो ।

दोश्रो खेलमा बाग्मतीले मधेश प्रदेशलाई २ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १५२ रन बनाएको थियो । सागर चेपाङले ३१ रन जोडे ।

प्रत्युत्तरमा बाग्मतीले १९.४ ओभरमा ८ विकेट क्षतिमा लक्ष्य भेटायो । शान्त पहरीले ३८ रन बनाए । राष्ट्रिय नेत्रहीन क्रिकेट संघको तत्वावधानमा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शान्त ‘म्यान अफ द सिरिज’ घोषित भए । सिरिजमा शान्तले ६९ रन बनाउनुका साथै ४ विकेट पनि लिए । पहिलो खेलमा बाग्मतीले मधेशलाई ७ विकेटले हराएको थियो ।

उसैगरी पारा राष्ट्रिय खेलकुदअन्तर्गत व्हीलचेयर बास्केटबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बाग्मती प्रदेशले शनिबार उपाधि हात पारेका छन् ।

नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको तत्वावधानमा राखेपद्वारा आयोजित प्रतियोगिताअन्तर्गत ५ टिम सहभागी पुरुषको राउन्ड रोविन लिगमा गण्डकीले सर्वाधिक ६५ अंक जोड्यो । ४६ अंकसाथ कर्णाली प्रदेश दोश्रो तथा ४४ अंकमा सुदूरपश्चिम प्रदेश तेश्रो भए ।

अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलमा भएको प्रतियोगिताको महिलामा लुम्बिनी दोश्रो भयो ।
विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदमा ५ खेलको प्रतियोगिता सम्पन्न भइसकेको छ । यसअघि दृष्टिविहीन गोलबल सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?