बागीलाई दलहरुले धम्की दिएको भन्दै निर्वाचन आयोगको आपत्ति

लोकपथ
56
Shares

काठमाडौं । निर्वाचन आयोगले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन धम्की आएको सूचना प्राप्त भएको भन्दै आपत्ति जनाएको छ ।

आयोगले एक विज्ञप्तिमार्फत यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवं कानुनी अधिकार कुण्ठित हुन जाने स्पष्ट पारिएको छ ।

‘वैशाख १६ उम्मेदवारको नाम फिर्ता लिने सम्बन्धमा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनुभएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले संविधान र प्रचलित कानुनबमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवं कानुनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भए पनि त्यसले संविधान, कानन र लोकतन्त्रमाथि आघात पुऱ्याउने भएकोले यस्ता हर्कत नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ।’

आयोगले आफूलाई उम्मेदवारी फिर्ता लिन इच्छा लागेमा राजीखुसीले मात्रै फिर्ता लिनसक्ने व्यवस्था रहेको जनाएको छ ।

कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिनेगरी लिखित रुपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने भन्दै आयोगले यसबाहेकको अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने स्पष्ट गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिवद्ध रहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?