नेपाल भर्सेज मरिसस : रातो कार्डको वर्षादेखि फ्लड लाइटमा समस्यासम्म

लोकपथ
1.9k
Shares

काठमाडौं । मंगलबार भएकाे नेपाल भर्सेज मरिससको दोस्रो मैत्रीपूर्ण खेल खेल निकै तनावपूर्ण बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलकाे निर्धारित ९० मिनेटमा रेफ्रीलाई कार्ड देखाउन नै भ्याइनभ्याइ भयाे । खेलकै बीचमा हात हालाहालकाे स्थिति पनि भयाे ।

नेपालले खेलको १०औँ मिनेटमा गोल गरेको थियो । सुजल श्रेष्ठले गरेका उक्त गोल नै नेपाललाई जित हात पार्ने गाेल बन्याे ।

लगत्तै अर्को मिनेटमा मरिससले पेनाल्टीमा गोल गर्ने सुनौलो अवसर गुमायो । नेपाली डिफेन्डर दिनेश राजवंशीले लिन्सले ब्रेजमाथि १८ यार्ड बक्सभित्र फउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो ।

तर, मोरिससका कप्तान एन्डी सोफीले गरेको प्रहार नेपाली कप्तान किरण चेम्जोङले बचाए ।

पहिलो हाफमा खेल निकै रोमाञ्चक बन्दै गएको थियो । पहिलो हाफमा प्रशिक्षक अलमुतायरीले नयाँ खेलाडीहरुलाई अवसर दिएका थिए ।

पहिलो हाफमा नेपालले राम्रो प्रदर्शन गरे पनि मरिसस नेपालमाथि हाबी देखिएको थियो । पहिलो हाफ १–० को गोल अन्तरमा सकिएको थियो ।

मैत्रीपूण खेल भनिए पनि दोस्रो हाफ भने निकै तनावपूर्ण देखियो । खेलको ७१औँ मिनेटमा हात हालाहालको अवस्था सिर्जना भयो ।

मरिससका खेलाडीहरु निकै आक्रामक देखिएका थिए । हात हालाहालको स्थितिमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रियन बोटलरले रातो कार्ड पाए ।

यतिमै रातो कार्डको क्रम सकिएन । हात हालाहालको अवस्था सिर्जना भएपछि नेपालका गोलकिपर प्रशिक्षक विकाश मल्ललगायतका टोली मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेपछि रेफ्री नबिन्द्र महर्जनले नेपालका गोलकिपर प्रशिक्षक विकाश मल्ललाई समेत रातो कार्ड दिए ।

७९औँ मिनेटमा इम्यानुयल फुलचुन्डले दोस्रो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गरे । उनले ६२औँ मिनेटमा पहिलो पहेँलो कार्ड बेहोरेका थिए ।

रेफ्री नबिन्द्र महर्जनलाई खेलमा कार्ड देखाएरै भ्याइनभाइजस्तो अवस्था थियो । नेपाल र मरिससको खेलमा ४ वटा रातो कार्ड र ६ वटा पहेँलो कार्ड देखाए ।

दशरथ रंगशालामा देखिएको लज्जास्पद दृश्य : 

तनावपूर्ण दोस्रो हाफमा दशरथ रंगशालाको फ्लड लाइटको लक्स घट्यो । फ्लड लाइटको लक्स घटेपछि खेल करिब १० मिनेट अवरुद्ध बनेको थियो । खेल अवरुद्ध भएपछि खेल के हुने अनिश्चित बनेको थियो । पछि फेरि खेल सुरु भएको थियो ।

देशको अन्तर्राष्ट्रियस्तरका खेल खेलाउने दशरथ रंगशालामा खेलको बीचमा फ्लड लाइटमा समस्या आएर खेल अवरुद्ध बन्नु राम्रो भने पक्कै पनि होइन। खेलाडीहरु खेल मैदानमा ‘वान टच’ खेलेर बस्न बाध्य भएका थिए ।

https://www.facebook.com/100064998060816/videos/996241604606111/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?