काठमाडाैं । कांग्रेसले ६ वटा प्रदेशमा प्रथम प्रदेश अधिवेशन सम्पन्न गरेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । यससँगै कांग्रेसको
१४ औँ महाधिवेशको माहोल थप तातिएको छ ।
प्रदेश नं २ मा भने नयाँ नेतृत्व चयनको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । जनकपुरमा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पार्टीको प्रदेश नं २ का प्रदेश महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले अधिवेशन स्थगित भएको जानकारी दिए । प्रदेश २ को अधिवेशन अब केन्द्रीय महाधिवेशनपछि गरिने उनले बताए । प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । सर्लाही, सप्तरी र रौतहटबाट प्रतिनिधिको सूची प्राप्त हुननसकेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन भएकामध्ये बागमती, कर्णाली र सुदूरपश्चिममा सभापति शेरबहादुर देउवा पक्षले जितेको छ । गण्डकी र लुम्बिनीमा रामचन्द्र पौडेल समूहले जितेको छ ।
हार खान बाध्य गुरु
प्रदेश १ मा इतर पक्षका उम्मेद्वार गुरु घिमिरेले प्रदेश सभापतिमा २ मतले हार्नुका कारण शीर्ष नेताहरुले भोट नहाल्नु थियो ।
मतदान स्थलमै उपस्थित भएर पनि नेताहरू डा. शेखर कोइराला, सुजता कोइराला र महेश आचार्यले मतदान गरेका थिएनन्। उनीहरूले मतदान गरेको अवस्थामा घिमिरेले एक मतले जित्ने अवस्था रहन्थ्यो ।
कांग्रेसको विधानको परिच्छेद ४को धारा १३ (१) (ग) मा भनिएको छ, सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उप–सभापति, महामन्त्री, कोषाध्यक्ष, सह–महामन्त्र र केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनका सदस्य ।
तर सो प्रावधानको उपयोग गर्न केन्द्रीय सभापतिका आकांक्षी समेत चुके । सभापतिका आकांक्षी डा शेखर कोइरालाले सामाजिक सञ्जालमा लेखे -कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै “संशय” थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें । यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु ।
यही कमजोरीका कारण कांग्रेस प्रदेश १ मा तेस्रो धार मानिने कृष्ण प्रसाद सिटौला समुहका उद्धब थापा देउवा समूहको सहयोगमा निवार्चित भए । थापाले ८४४ मत ल्याउँदा इतरका घिमिरेले ८४२ ल्याएर पराजित भए । तर अहिले घिमिरे समूहले पुन गणनाको माग राखेको छ । घिमिरेको माग प्रदेश निर्वाचन समितिले केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराएको छ ।
बागमती प्रदेश
बागमती प्रदेश सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ निर्वाचित भए । बानियाँले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पराजित गरेका हुन् । बानियाँले १ हजार ८५ मत ल्याएर बिजयी भए भने केसीले ९२७ मत प्राप्त गरे । केसी पहिलो ५ सय मत गणना हुँदासम्म अग्रता लिए पनि १ हजार मत गणना गर्दा पछि परे ।
संस्थापन पक्षका बानियाँ र तेस्रोधार कृष्णप्रसाद सिटौला निकट भिमसेनदास प्रधानको समर्थनमा निवार्चित भएका हुन् । चुनाव अघि केसीले पहिलो चरणमा नै ५० प्रतिशत मत ल्याउने दाबी गरेका थिए ।
बागमति प्रदेशमा पहिलो चरणको शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेनदास प्रधान कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आइतबार पुनः दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणमा बानियाँलाई तेस्रो बनेका भिमसेन दास प्रधानले समर्थन जनाएका थिए । प्रधानको समर्थनमा बानियाँ प्रदेश सभापति बने । मकवानपुरका बानियाँ वागमती प्रदेशसभा कांग्रेस संसदीय दलका नेतासमेत हुन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भए । शनिवार सम्पन्न निर्वाचनको मत परिमाण आईतबार आएको थियो । शर्माले ६ सय १२ मत ल्याएर विजयी भए भने अर्जुनप्रसाद जोशीले ५ सय २८ मत मात्र ल्याए । शर्मा वरिष्ठ नेता पौडेल र शंशाक कोइरालाको समर्थनमा सभापति बनेका हुन । जोशी देउवा समूहका हुन् । उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेको थियो । उपसभापतिमा कल्पना तिवारी विजयी भएकी छन् । महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ, सह महामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट निर्वाचित भए ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर (पौडेल) समुहका अमर पुन विजयी भए । पुनले ८५२ मत ल्याउँदा उनका प्रतिद्वन्द्धि भरत शाहले ७६७ मत पाए । पुन समुहका अधिकाशं पदाधिकारी निवाचित भएका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सभापतिमा देउवा पक्षका ललितजंग शाही विजयी भए। उनले इतर (पौडेल समुह)का भूपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले पराजित गरेका हुन् । ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत प्राप्त गरेका छन् । विमलेन्द्र निधि पक्षका अर्का उम्मेद्वार मोतीराज बमले जम्मा ७ मत ल्याए । पदाधिकारीमा संस्थापन समुहकै बर्चस्व रहयो । उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की, महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकाया, सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही विजयी भए ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश संस्थापन (सभापति शेरबहादुर देउवा) समूहका वीरबहादुर बलायरले जित हात पारे । उनले संस्थापन इतरबाट प्रतिष्पर्धामा उठेका नारायणदत्त मिश्रलाई चार सय आठ मतले पछि पार्दै विजयी भए । बलायरको पक्षमा ६८८ मत थियो भने मिश्रले २८० पाएका थिए । देउवा पक्षलदे क्लीन स्वीप गरेको यो प्रदेशमा उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने विजयी भएका छन् ।
साझा उम्मेद्वार खोज्दै पौडेल समूह
शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गर्न साझा उम्मेदवार तय गर्ने प्रयासमा नेपाली काँग्रेसको संस्थापन इतर पक्षका नेताहरु जुटेका छन् । सो क्रममा सोमबार नेताताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालाबीच छलफल भएको छ ।
१४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि उनी छलफलमा जुटेपनि सहमति भने हुन नसकेको एक नेताले बताए । छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति भने नभएको छ । बैठकमा चारै नेताले आफ्नो दावी पेश गरेका थिए ।
आजको बैठकमा साझा उम्मेदवारबारे साझा धारणा बन्न नसकेपनि पुनः बैठक बसेर सहमति जुटाउन पहल गरिने एक नेताले बताए
सभापतिमा शेरबहादुर देउवाले भने उम्मेद्वारी घोषणा गरिसकेका छन् । कांग्रेस महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ भने त्यसको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया