असार २९ गते प्रधानमन्त्रीको पाँचौँ इनिङ्सको सुरुवात गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसपछि पार्टी मुख्यालय जाने कष्ट गरेका छैनन् । उनले निजी निवास बुढानीलकण्ठबाट नै कांग्रेस चलाउँदै आएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै पार्टीको काम गर्थे । देउवाले बालुवाटारलाई पार्टीको काम गर्ने अखडा त बनाएका छैनन् तर पनि पार्टी कार्यालयबाट गर्नुपर्ने पार्टीका काम निजी निवास बुढानीलकण्ठबाट नै गर्दै आएका छन् ।
कात्तिक २१ मा जारी गरेका विज्ञप्तिमा २८ गते दिउँसो १ बजे पार्टी केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा बस्ने थियो । तर बैठक देउवाको निजी निवास बुढानीलकण्ठमा बस्यो । प्रधानमन्त्री देउवाको समय व्यस्तताले गर्दा बैठक बुढानीलकण्ठमा बसेको देउवा निकट नेताको भनाइ छ ।
केन्द्रीय निर्वाचन समितिलाई काम गर्न समस्या नआओस् भनेर केन्द्रीय कार्यालयमा बैठक नराखिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाकारी दिए ।
‘केन्द्रीय समिति बैठक सानेपामा गर्दा केन्द्रीय निर्वाचन समितिको कामकाजमा डिस्टर्ब हुन्छ । त्यहाँ बैठक गर्दा करिब दुई सय मानिस भेला हुन्छन् । सञ्चारकर्मी पार्टीका सदस्यहरूले धेरै हुन्छन्’, उनले भने, ‘महाधिवेशन आउन एक महिना पनि छैन । छोटो समयमा निर्वाचन समितिले धेरै काम गर्नुपर्नेछ । सातै प्रदेशको मंसिर १६ मा हुने अधिवेशनको काम पनि निर्वाचन समितिले केन्द्रबाटै गर्नुपर्नेछ ।’
अनुकूलताका लागि बुढानीलकण्ठमा बैठक बसेको प्रवक्ता शर्माको भनाइ थियो ।
उता निर्वाचन समिति भने केन्द्रीय समितिको बैठकबाट केही प्रभाव नपर्ने बताउँछ ।
‘रौतहटको केसले पार्टी सभापतिलाई अप्ठ्यारो हुन सक्छ भनेर हो, त्यस्तो केही होइन’, निर्वाचन समितिका एक सदस्यले लोकपथसँग भने ।
केन्द्रीय कार्यालय सानेपामा ११७ दिनदेखि रौतहटका नेता तथा कार्यकर्ता धर्नामा छन् । महासमिति सदस्य डा. देवचन्द्र मिश्र, पूर्वस्वास्थ्य राज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यादवलगायत धर्नामा बसेका छन् ।
‘११६ दिनसम्म सभापति देउवाको अनुहार देखिएको छैन । संस्थापन पक्षका नेताहरू पनि बेवास्ता गरेर हिँड्थे, अहिले त पहिले सहयोग गर्छौँ भनेका संस्थापनइतर पक्षका नेताहरू पनि आएका छैनन्’, डा. मिश्रले लोकपथसँग भने ।
निर्वाचन समितिका अनुसार रौतहटमा निर्वाचन प्रक्रिया चलिरहेको छ ।
‘रौतहटमा क्रियाशील विवाद समाधान भइसक्यो भनियो तर हामीलाई थाहा नै छैन । रातारात २ दिन पहिलो निर्वाचन अधिकृत गए’, डा. मिश्रले थपे ।
जिल्ला सभापति कृष्णप्रसाद यादवको लिस्टलाई सदर गरेर निर्वाचन प्रक्रिया अघि बढाइएको अनशनरतहरूको भनाइ छ । रौतहटका १३ जना वडा सभापतिहरूलाई जानकारीबिना नै क्रियाशीलता विवाद मिल्यो भनिएको छ । पार्टी केन्द्रीय कार्यसमिति बैठकमा यसबारे कुरा उठेकाले समाधान होला कि भन्ने आशा अनशनकारीलाई छ ।
केन्द्रीय समिति बैठकमा पार्टीभित्रको आन्तरिक विवाद र न्यायालय विवादबारे नेता अर्नुन नससिहं केसी, गगन थापा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहले प्रश्न उठाएका थिए ।
‘पार्टीलाई व्यक्तिगत संस्थाजस्तो गरी चलाइरहनु गलत हो’, कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘सायद यो कांग्रेसको महाधिवेशनअघि अन्तिम केन्द्रीय समिति बैठक हुनसक्छ । फेरि हामी बस्छौँ बस्दैनौँ थाहा छैन । देउवाले पार्टीलाई प्राइभेट कोटरी जसरी चलाइरहनुभएको छ ।’
रौतहटका कार्यकर्ताको अनशनबाट पार्टी नेतृत्व भाग्नुपर्ने अवस्था आएको वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ । केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले सभापति देउवालाई प्रश्नै प्रश्न राखे ।
‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनशन बसेका छन् । सोही कारण हामी भागेर बुढानीलकण्ठमा बैठक बसेका छौँ । सानेपाबाट भाग्नु परेको छ । हामी कसरी अघि बढ्ने हो ?’
प्रधानमन्त्री देउवाको जिल्ला डँडेलधुराको विषयमा पनि पौडेलले प्रश्न उठाए : पार्टीको कार्यालाय छोडेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनशन अन्त्य गर्ने कि नगर्ने ? सुतुरमुर्गा शैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने ? अवस्था सुधार्ने कि नगर्ने ? जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यकर्ता आउँछन् तर गुनोसो कसले सुनिदिने ? हामी सबै यहाँ बसेका छौँ । यी समस्या कसरी टुंगो लगाउने ? समस्या समाधान नगरी कसरी प्रस्ताव पास हुन्छ ? पास पास मात्र भनेर हुन्छ ?’
देखिएका विवादहरू वार्ताबाटै हल भएको र अब पनि वार्ताबाटै समाधान हुने पार्टी प्रवक्ता शर्माको भनाइ छ । रौतहटमा विधानविपरीत क्रियाशील सदस्यता दिइएकोमा खारेज हुनुपर्ने माग अनशनकारीहरूको माग छ । तर उनीहरूका माग सुनुवाइ नगरी क्रियाशील सदस्यता सूची सार्वजनिक गरिसकिएको छ । माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चुनौती उनीहरूले दिइरहेका छन् ।
देउवा प्रधानमन्त्री भएपछि साउनको १ र २ गते पदाधिकारी र पूर्वपदाधिकारी बैठक बालुवाटारमा बसेको थियो । त्यसबेला नेता अर्जुननरसिंह केसी महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापालगायतले बालुवाटारमा पार्टीको बैठक गरेकोमा नेतृत्वको आलोचना गरेका थिए ।
आलोचनापछि कांग्रेसले पार्टीका औपचारिक कार्यक्रम सरकारी निवास बालुवाटारमा नगर्ने निर्णय नै गरेको छ । साउन ८ मा देउवा निवास बुढानीलकण्ठमै पदाधिकारी बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया