काठमाडौं । भक्तपुरका पोटरी स्क्वायरका ५६ वर्षीय बुद्धिराम प्रजापति १०/१२ वर्षकै उमेरदेखि माटोका भाडा बनाउने पेसा गर्दै आएका छन् ।
अध्ययन धेरै भएन । त्यसैमाथि पुख्र्यौली पेसा । अरु काम गर्न जानेकै छैन । तालिम लिएर केही गर्न घरको आर्थिक अवस्थाले दिएन । अन्ततः सानैदेखि आफूले जानेको काम माटोका भाँडा बनाउने पेसा अपनाए उनले । १०/१२ वर्षको उमेरमा सुरु गरेको पेसा अहिलेसम्म निरन्तर चलिरहेको छ । १०/१२ वर्षको उमेरदेखि सुरु गरेको हो, यसैले गुजारा चलेको छ’, उनले भने ।
माटोका भाँडा बनाएरै उनले ८ जनाको परिवार पाल्दै आएका छन् । उनको मासिक आम्दानी ४०/५० हजारको हाराहारीमा हुन्छ । यो पेसाबाहेक कृषि पनि गर्छन् उनीहरू । तर मुख्य पेसा भनेको माटोका भाँडा बनाउने पेसा हो । आजभन्दा ८/१० वर्ष पहिले माटोका भाँडा तथा पालाबत्तीको बजार निकै राम्रो थियो । तिहारमा त झन् राम्रो कारोबार हुन्थ्यो । तर पछिल्लो समय विद्युतीय (आधुनिक, मैन) बत्तीका कारण माटोका पालाहरूको खपत घटेको बुद्धिराम बताउँछन् ।

‘पहिलेका तिहारमा जस्तो कारोबार अहिले छैन’, प्रजापतिले भने । बच्चैदेखि गरेको हुनाले बुद्धिरामलाई यही पेसाको माया लाग्छ ।
त्यसैगरी, माटोको भाँडा बनाउने अर्का व्यवसायी हुन्, रोशन प्रजापति । ४५ वर्ष पुगेका रोशनले पनि १०/१२ वर्षदेखि नै माटोका पाला (भाँडा) बनाउन थाले । १० कक्षासम्म पढेका उनी अन्य पेसा अपनाउनै चाहेनन् ।
अन्य पेसाका लागि तालिम लिनुपर्ने बाध्यताका कारण पुख्र्यौली पेसालाई नै निरन्तरता दिए । रोशनले मासिक ४०/५० हजारको हाराहारीका आम्दानी गर्छन् । ५ जनाको परिवार पाल्न उनलाई अहिलेसम्म अप्ठ्यारो भएको छैन । ‘अहिलेसम्म यही कामबाट परिवार चलेको छ’, रोशनले भने ।
तिहारका बेलामा भने माटोका भाँडा र पालाहरूको राम्रै कारोबार हुँदै आएको छ । तिहारमा प्रतिपरिवारले लगभग २ लाख रुपैयाँको हाराहारीमा माटोका भाँडाकुँडा तथा पालाहरू बिक्री गर्दै आएका छन् । विगतका वर्षहरूमा त अझै धेरै बिक्री हुन्थे ।
बुद्धिराम प्रजापति र रोशन प्रजापति मात्रै होइनन्, भक्तपुर पोटरी स्क्वायरका लगभग ५० घरपरिवार माटोका भाँडाकुँडा तथा पाला बनाउने पेसामा संलग्न छन् । यही पेसालाई मुख्य पेसा बनाएर परिवार पाल्दै आएका प्रजापति परिवारको वर्षाैँदेखिको पुर्ख्याैली पेसा अब भने संकटमा पर्दै छ ।

युवा वर्ग पलायन
प्रजापति परिवार लामो समयदेखि माटोका भाँडा बनाउने पेसामा संलग्न रहँदै आए पनि पछिल्लो पुस्ता भने यस पेसालाई छाडेर अन्य पेसामा लाग्न थालेका छन् । युवापुस्ता पढेलेखेका कारण अन्य पेसा अपनाउने गरेको रोशन प्रजापति बताउँछन् ।‘छोरोछोरीले यस्तो काम कहाँ गर्छन् र ?’ उनले भने । पछिल्ला पुस्ताहरू माटोको काम गर्न नचाहेका कारण तथा आम्दानीका हिसाबले बढी आम्दानी हुने काम खोज्न थालेका छन् ।
व्यवसाय संकटमा पर्दा चिन्तित
पछिल्लो समयम आधुनिक (विद्युतीय) बत्ती र प्लास्टिकका भाँडाको प्रयोग बढेपछि माटोका भाँडा तथा पालाको प्रयोगमा कमी आएको छ । आफ्नो पुर्खादेखिको पेसा संकटमा पर्न थालेपछि वर्षौँदेखि माटोका भाँडा बनाउँन्दै आएका प्रजापति परिवारहरू चिन्तित देखिन्छन् ।
आधुनिक भाँडाकुँडा र झिलमिली बत्तीका कारण माटोका पाला तथा भाँडाको प्रयोग ५० प्रतिशतको हाराहारीका कमी आएको व्यवसायीले गुनासो गर्दै आएका छन् ।
त्यति मात्रै होइन, युवा वर्ग अन्य पेसामा लागेकाले पनि यो व्यवसाय संकटमा पर्दै छ । भोलिका दिनहरूमा यो पेसालाई निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने पनि उनीहरूलाई निकै चिन्ता छ ।

समस्या
भक्तपुरको पोखरी स्क्वायर, जहाँ १ सयभन्दा बढी प्रजापति परिवार बसोबास गर्दै आएका छन् । उनीहरूको मुख्य पेसा भनेकै माटोका भाँडाकुँडा बनाउने हो ।
पछिल्लो समय माटोका भाँडा बनाउने माटोको अभाव हुँदै गएको गुनासो उनीहरूको छ । अहिले प्रतिट्रक (टिप) माटोको १ लाख रुपैयाँसम्म पर्छ । उनीहरूले माटो पाटनबाट ल्याउने गर्छन् । पछिल्लो समय माटोको पनि अभाव हुन थालेपछि भाँडा बनाउने काम झनै संकटमा पर्दै गएको छ ।
त्यति मात्रै होइन, अहिले माटोका भाँडा सुकाउने ठाउँको पनि अभाव छ । ठाउँ अभाव भएका कारण आलोपालो गरेर भाँडा बनाउँदै सुकाउँदै गर्नेगरेका छन् ।
ठाउँ अभावकै कारण एकैचोटी धेरै भाँडा बनाउन सक्ने अवस्था छैन । थोरै–थोरै बनाउँदै सुकाउँदै गर्नुपर्छ । प्रशस्त ठाउँ हुने हो भने व्यावसायिक रूपमा काम गर्न सजिलो हुने उनीहरूको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया