इमान्दारिताका साथ देश र जनताको हितमा काम गर्न नवनियुक्त मन्त्रीहरुलाई नेपालको निर्देशन

लोकपथ
84
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारिता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।

पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारीता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए । उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए । उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुन पनि सचेत गराए । कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए ।

उनले भने– ‘तपाईँहरुले इमान्दारीताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ । इमान्दारीता र कर्तव्यनिष्ठाको भावनालाई सर्वोपरी राखेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा तपाईहरुको ध्यान म आकर्षित गर्न चाहान्छु । काम गर्दाखेरी राष्ट्रको हितलाई र जुन संस्थाको जिम्मवारी तपाईहरुले सम्हालीरहनु भएको छ । त्यो संस्थाको हितलाई केन्द्रबिन्दूमा राखेर, अनि जनताको हितलाई केन्द्रबिन्दूमा राखेर तपाईहरुले काम गर्नु हुनेछ । यस अर्थमा राष्ट्रको हित, जनताको हित र संस्थाको हितलाई तपाईहरुले केन्द्रबिन्दूमा राखेर काम गर्नुपर्ने हुन्छ । काम गर्दाखेरी नीजि स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट तपाईहरु मुक्त हुनुपर्छ । त्यो बाट टाढा रहनुपर्छ । आफ्नो योग्यता र क्षमता, कार्यसम्पादनमा उत्कृष्टताको आधारमानै कुनैपनि व्यक्तिको छनौट गर्ने र जिम्मेवारी दिने कुरामा तपाईहरु लाग्नुहुनेछ । र यसरी व्यक्तिको छनौट आफु खुशी होइन, ती व्यक्तिको योग्यताको पक्ष सुनिश्चित हुनेगरी व्यक्तिको छनौट गर्नुहुनेछ र जिम्मेवारी दिनु हुनेछ ।’

अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिए । पदीय मर्यादा र गरिमा विपरितका काम नगर्न उनले निर्देशन दिए । कुनै पनि प्रकारका दूव्र्यसन र आचरणसँग जोडिने काम नगर्न उनले निर्देशन दिए । उनले गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गरे । मन्त्रीहरुको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ती गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने उनको भनाई छ । उनले भने – ‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरु तपाईहरुबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ । यो मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलका बेलका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरु सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् । सिधा कुरा, रक्सी खाने बानि छ भनेपनि बानि त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरु तपाईहरुबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु । पार्टीको नेतृत्व र पार्टीले जिम्मेवारी दिएको विभागसँग काममा समन्वय गर्नुहुनेछ । पार्टीको निर्देशन र सल्लाहलाई केन्द्रबिन्दूमा राखेर तपाईहरुले काम सम्पन्न गर्नु हुनेछ । विज्ञ र अनुभवीहरुसँग नियमित रुपमा राय, परामर्श लिने चलन बसाल्नुपर्छ । तपाईहरुले पाँच दलिय गठबन्धनको भावना अनुरुप अरु दलसित समेत सहकार्य गर्नेगरी आफ्नो कार्यसम्पादन गर्नुपर्ने हुन्छ । सांसदहरु र पार्टीका विभिन्न क्षेत्रका कार्यकर्ताहरुसँग जिवन्त सम्पर्क राख्नुपर्छ । पिएहरु नियुक्त गर्दा पार्टीले नै सबैको परामर्शको आधारमा, सल्लाहकारहरु नियुक्त गर्दाखेरी पार्टीका परामर्शका आधारमा, अन्य जोडिएका अनेक पक्षहरु हुन्छन् ति सबै आफु खुशी, आफ्नो ढंगले गर्ने होइन, त्यस सम्बन्धमा पार्टीको परामर्शको आधारमा चल्ने ।’

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडी नै सामुहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताए । सिंगो मन्त्रीपरिषद्ले गर्ने निर्णयको जस अपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै उनले मन्त्रिपरिषद्का विषयवस्तुहरु पार्टीलाई समेत जानकारी गराई, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?