नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

लोकपथ
224
Shares

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ । हमालको नियुक्तिको विषयमा चौतर्फी विरोध र प्रश्न उठेपछि राजीनामा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन् ।

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरेका छन् ।

विभिन्न सञ्चार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको बताएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामापत्रमा भनेका छन् ।

‘हाल विभिन्न संचारमाध्यायमहरुमा सम्प्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरुबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्ययन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकै बीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्रीपदबाट राजीनामा दिएको छु ।’

हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?